दुई करोड बराबरको भ्रष्टाचार अभियोगमा मुद्दा दायर

दुई करोड बराबरको भ्रष्टाचार अभियोगमा मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध कर्मचारी नियुक्ति र कार्यालय भवन निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार कार्यालयका प्रमुख मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेशबहादुर केसी र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत श्यामकुमार सिंहको मिलेमतोमा गलत दरबन्दी तयार पारी उनीहरुको नाममा तलब भत्तासमेत लिई भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

गलत विवरण तयार पारी १५२ स्वीकृत दरबन्दीभन्दा बढी पटकपटक गरी १४७ जना र २६० जनाको दरबन्दी थप भएको उल्लेख गरी रु एक करोड ८२ लाख छ हजार ९०० बराबरको भ्रष्टाचार गरेको अभियोगमा कार्यालय प्रमुख मल्लविरुद्ध मुद्दा दायर गरिएको छ ।

यस्तै शाखा अधिकृत श्यामकुमार सिंहले पनि गलत दरबन्दी खडा गर्न सहयोग गरेको पाइएकाले रु एक करोड ८२ लाख छ हजार ९०० नै बिगो कायम गरी मुद्दा दायर गरिएको छ । आयोगले नायब सुब्बा गौतमविरुद्ध पनि प्रमुख मल्ल र शाखा अधिकृत सिंह बराबरै बिगो दाबी माग गरिएको आयोगले जनाएको छ ।

सहायक कम्प्युटर अपरेटर केसीविरुद्ध पनि रु एक करोड ८२ लाख छ हजार ९०० र लेखापाल शालीग्राम पौडेलविरुद्ध रु एक करोड ७५ लाख ५८ हजार ६३० बराबरको बिगो दाबी गरिएको छ । सोही अभियोगमा कार्यालयका नायब सुुब्बा रणबहादुर बोहोराविरुद्ध रु ३० लाख तीन हजार २१०, साविक कोष तथा लेखा नियन्त्रक कार्यालय दैलेखमा कार्यरत लेखा नियन्त्रक शुभाकर न्यौपाने र लेखापाल दीपबहादुर थापाविरुद्ध पनि कार्यालय प्रमुख मल्ल बराबरकै बिगो कायम गरिएको छ ।

यस्तै आयोगले इलाका प्रहरी कार्यालय बिपीनगर डोटीमा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहोराले अवैध काठ तस्करी गरेर ट्र्याक्टरमा लोड गरिरहेकासँग मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा आइतबार नै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बोहोराविरुद्ध रु ६१ हजार २० र केदार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध पनि समान बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

त्यस्तै आयोगले नेपाल राष्ट्रिय आधारभूत मावि पर्सामा सरकारी स्रोतबाट प्राप्त रकम दुरुपयोग गरेको अभियोगमा प्रधानाध्यापक सन्तोषकुमार गुप्ताविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गुप्ताविरुद्ध रु छ लाख बराबरको बिगो माग दाबी गरेको छ ।रासस

Skip This
Skip This
Logo