जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेको छ।
मंसिर ४ गते साेमबारदेखि ३० दिनसम्म माइतीघर मण्डलादेखि बानेश्वर क्षेत्रलाई पाँच जना भन्दा बढी भेला हुन नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकको सिफारिसका आधारमा उक्त निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ । ‘एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झै-झगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुनसक्ने तथा हुलदंगा वा अशान्ति हुनसक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्छ,’ प्रमुख जिल्ला अधिकारी बस्नेतद्वारा जारी आदेशमा भनिएको छ।
मंसिर ७ गते माइतीघर मण्डलामा नेकपा एमालेनिकट युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहकाे प्रदर्शन हुँदैछ । सोमबार प्रशासनले दुवै पक्षसँग छलफल गरेर प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल गरेकाे थियाे तर, पछि निषेधित क्षेत्र घोषणा गरिएकाे हाे ।
पछिल्लोसमय एमालेकाे भातृसंगठन युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत र प्रसाईंबीच तल्लो स्तरको गालीगलौज चलिरहेको छ । दुईबीच सार्वजनिक कार्यक्रम, मिडिया र सोसल मिडियामा विष वमन चलिरहेको छ । यसैबीच एकैदिन एउटै स्थानमा हुने दुई समूहको प्रदर्शनले स्थिती तनावपूर्ण हुनसक्ने आंकलन गरेर प्रशासनले यो निर्णय लिएकोे बुझिएको छ ।





























प्रतिक्रिया