खाद्यसम्म पुग्दैन धान, गाउँमै धमाधम बेच्दै किसान

खाद्यसम्म पुग्दैन धान, गाउँमै धमाधम बेच्दै किसान

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका लागि तयार गरेर घरमा राखेकी छिन्।गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन्। उनले धानको उचित मूल्य पाएकी छैनन्। 

व्यापारीहरू धान किन्नका लागि घरमै आउँदा पनि मूल्य नपाएर किसान चौधरीले धान घरमै थन्क्याएर राखेकी हुन्। उनले अहिलेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गरेकी छैनन्। खाद्य व्यवस्थाले राम्रो दिँदा पनि बिक्रीका लागि टाढा हुँदा लैजान नसकेको उनले बताइन्।

“नजिकमा खाद्यको खरिद केन्द्र छैन। धान बेच्न भाडा तिरेर महेन्द्रनगर पुग्नुपर्छ”, उनले भनिन्, “खरिद केन्द्र टाढा हुँदा गाउँमै सस्तोमा धान बिक्री गर्ने गरेका छौँ।” उनका अनुसार गाउँका स्थानीय व्यापारीले अहिले रु दुई हजार सात सय क्विन्टलका दरले धान खरिद गरिरहेका छन्। डेढ बिघा जमिनमा धानखेती गरेकी उनको यसपटक उत्पादन वृद्धि भएको छ।

“धान खरिदका लागि घरमै आउँछन्। गाडी भाडा तिरेर हामीले ढुवानी गर्नु पर्दैन”, उनले भनिन्, “खाद्यसम्म पुर्याउँदा ढुवानी खर्च लागेर केही फाइदा हुँदैन।” उनका अनुसार यसपटक ६० क्विन्टल धान उत्पादन भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदका लागि महेन्द्रनगरमा मात्रै केन्द्र राखेको छ। महेन्द्रनगरबाट टाढा रहेका किसानलाई खाद्यसम्म धान पुर्याउनै सकस छ।

सरकारले सञ्चालन गरेको धान खरिद केन्द्र पायक क्षेत्रमा नहुँदा गाउँमै सस्तोमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको लालझाडी गाउँपालिकाका किसान भगत चौधरीले बताए। “हामीलाई धान बिक्रीका लागि महेन्द्रनगर लैजान निकै टाढा पर्छ। ढुवानी खर्च कटाउँदा गाउँमा बिक्री गरेजस्तै हुन्छ”,उनले भने,“यहाँका व्यापारीले घरमै गाडी ल्याएर धान लैजान्छन्।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय महेन्द्रनगरले गत कात्तिक १५ गतेदेखि धान खरिद गर्न सुरु गरेको थियो। भीमदत्त नगरपालिकासहित नजिक पर्ने बेदकोट, शुक्लाफाँटा र दोधारा चाँदनीका गरेर दैनिक १० किसान धान बिक्रीका लागि पुग्ने गरेको निमित्त कार्यालय प्रमुख टपेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए।

“अहिलेसम्म १८ क्विन्टल धान खरिद गरिएको छ। धान खरिद गर्ने काम माघ अन्तिमसम्म चल्छ”, उनले भने, “यस वर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ।” प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ का दरले धान खरिद भइरहेको उनले बताए। यो मूल्य गत वर्षभन्दा बढी हो। गत वर्ष रु दुई हजार नौ सय ६७ प्रतिक्विन्टलका दरले धान खरिद गरिएको थियो।

महेन्द्रनगरबाट टाढा रहेका किसानलाई लक्षित गरेर खरिद केन्द्र स्थापनाका लागि पत्राचार गरिएको निमित्त कार्यालय प्रमुख उपाध्यायले बताए।“ती क्षेत्रमा खरिद केन्द्र खोल्न पत्राचार गरेका छौँ। हामीसँग कर्मचारी तथा भौतिक संरचनाको अभाव छ”,उनले भने, “स्रोतसाधनको व्यवस्थापन गरेर खरिद केन्द्र थप्ने तयारी छ।”

Logo