मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानको आन्दोलन शिथिल बन्दै गएको छ । आइतबार सानोठिमीमा हुने भनिएको सडक र्याली अझै निस्कन सकेको छैन । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सडक जाम हुन्छ भन्दै र्याली हुन नदिएपछि आन्दोलन चार दिनमै शिथिल बन्न पुगेको हो ।
दुर्गा प्रसाईं स्वास्थ्यमा समस्या देखिएपछि घरमै आराम गरेर बसेका छन् । केही समर्थक मात्रै सडकमा छन् ।
शुक्रबार तीनकुनेमा हुने भनिएको प्रदर्शनमा पनि उनी सहभागी हुन पाएका थिएनन् । उनलाई घरमा नै नजरबन्दमा राखिएको थियो । राजनीतिक दलका नेताका घर लक्षित ‘श्रीलंका स्टाइल’ मा आन्दोलन गर्ने उद्घोष गरेका उनलाई घरमै थुनेर राखिएको थियो । साे दिन उनका समर्थकलाई समात्न थालेपछि कार्यक्रम बिथोलिएकाे थियाे । तर, शनिबार सिफल चौरमा भएको कार्यक्रममा भने प्रसाईं सहभागी भएका थिए । उनले आन्दोलनमा सबैकाे सहयाेग नपाएकाे गुनासाे समेत गरेका थिए ।
प्रसाईं नेतृत्व समूहले राजतन्त्र फर्काउने, बैैँक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्नेलगायतका माग गर्दै बिहीवार पनि बल्खुमा विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । तर, सुरुको दिन जम्मा भएको भिड चौथो दिनसम्म आइपुग्दा निकै पातलिएको छ र आन्दोलनकारी तितरबितर भएका छन् ।































प्रतिक्रिया