- देवराज केसी
काभ्रे ।
इलाका प्रहरी कार्यालय बनेपाले लकडाउनको मौका छोपि हार्डवेयर पसलको काउन्टरबाट नगद ९ लाख रुपैयाँ चोरी गर्ने युवालाई नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा नम्वर १ डाँडाटोलस्थित आफन्तको घरमा लुकिरहेको अवस्थाबाट पक्राउ गरेको छ ।
जेठ २८ गते राति बनेपा नगरपालिका वडा नम्वर ७ मा रहेको तेन्डेल हार्डवेयर प्रालिको काउन्टरबाट ९ लाख रुपैयाँ चोरी भएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले चोरी गरी फरार भएका प्रकाशजंग कुँवरलाई नवलपरासीबाट पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।
हार्डवेयरको काउन्टरबाट चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्वर १ बस्ने २७ बर्षिय प्रकाशजंग कुँवरले जेठ २८ गते राति ८ बजे ९ लाख ४ हजार २ सय ७५ रुपैयाँ चोरी गरेका थिए । हार्डवेयर संचालक सुरेश घिसिङ्गले प्रहरीमा जेठ २९ गते काउन्टर चोरी भएको जानकारी गराएको प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

प्रहरीले कुँवरको साथबाट नगद १ लाख ५० हजार, घटनामा संलग्न हुँदा लगाएको पोशाक, जुत्ता, मोवाईल र वाईफाई राउटर बरामद गरेको छ । प्रहरीका अनुसार कुँवर केहि दिन अघि साढुदाई ट्रक चालक गोविन्द चौधरीसँग हार्डवेयर आएको सिसि क्यामेराको फुटेजमा देखिएको थियो । चोरी गर्दा प्रयोग गरेको टिर्सट र केहि दिन अघि हार्डवेयरमा आउँदा लगाएको टिर्सट एउटै देखिएका आधारमा उनको खोजी गरिएको प्रहरीले जानकारी दिएको छ । उनी पटक पटक चोरी मुद्दामा पक्राउ परी जेल पर्दै छुट्दै गरेको बताइएको छ । कुँवरलाई चोरी अभियोगमा मुद्दा दर्ता गरी म्याद थप गरेको प्रहरीले जानकारी दिएको छ ।





























प्रतिक्रिया