सन्दर्भ २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस : यस्तो छ नेपालमा भूकम्पको इतिहास

सन्दर्भ २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस : यस्तो छ नेपालमा भूकम्पको इतिहास

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा बितेको एक शताब्दीभित्र ५ वटा ठूला र विनाशकारी भूकम्प गइसकेका छन् । जनधनको क्षतिका हिसाबले २०७२ वैशाख १२ गतेको भूकम्प सबैभन्दा विनाशकारी हो तर १९९० साल माघ २ गतेको भूकम्प त्योभन्दा निकै ठूलो हो ।

त्यसबाहेक २०४५ साल भदौ ५ गते गएको भूकम्पले पनि विशेष गरी नेपालको धरान शहरलाई गम्भीर क्षति पुर्याएको थियो । कम रेक्टर स्केलको भए पनि इपिसेन्टर नजिक घना आवादी भयो भने यसले ठूलो विनाश निम्त्याउन सक्छ भन्ने पनि ०४५ सालको भूकम्पले देखाएको छ ।

त्यसयता धेरै भूकम्पहरु गए । ०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले ०४५ सालको भूकम्पलाई बिर्साइदिएको छ । तर पनि सो भूकम्प नेपालको इतिहासमा धेरै क्षति भएको भूकम्पको रुपमा लेखिएको छ ।

काठमाडौंदेखि पूर्वको क्षेत्रमा गएका ठूला भूकम्प मध्ये विसं १९९० माघ २ गते (आजकै दिन) को महाभूकम्प (८.४ रेक्टर), विसं २०४५ को उदयपुर केन्द्रविन्दु रहेको भूकम्प (६.६ रेक्टर) हुन् भने त्यसपछिका भूकम्पमा ०६८ असोज १ गते गएको भूकम्प (६.९ रेक्टर) पनि पर्छ ।

भूकम्पीय इतिहास अनुसार नेपालमा हरेक ७० देखि १ सय वर्षमा एक महाभूकम्प र हरेक ५० वर्षमा मध्यमखालको भूकम्प जाने गरेको पाइन्छ । नेपालमा वि.सं. १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९०, २०३७, २०४५, २०६८ र २०७२ सालमा ठूला भूकम्प गएको इतिहास छ ।

इतिहासविद्हरुले नेपालको इतिहासमा वि.सं. १२१८ को भूकम्पलाई अभिलेखमा रहेको पहिलो विनाशकारी भूकम्प मानेका छन् ।

२ माघ १९९० मा संखुवासभा जिल्लाको चैनपुर केन्द्र भएर गएको भूकम्प ८.४ रेक्टर स्केलको थियो । हालसम्म सबैभन्दा विनाशकारी भनेर यसै महाभूकम्पलाई लिइन्छ । सो भूकम्पमा परी नेपालमा मात्र तीन हजार आठ सय ५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा ८ हजार ५ सय १९ जनाको ज्यान गएको थियो । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।

यस्तै वि.सं. २०४५ भदौ ५ गते बिहान ५ बजे पूर्वी नेपालको उदयपुर केन्द्रविन्दु रहेको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पको मापन ६.६ रेक्टरस्केल रहेको थियो । यो भूकम्पले ४० सेकेण्ड पुरै नेपाल हल्लाएको थियो । यसमा ७२१ जनाले ज्यान गुमाएका थिए । शक्तिशाली भूकम्पमा परि ६५ हजार घरहरु ध्वस्त भएका थिए । तत्कालिन श्री ५ को सरकारले भूकम्पले भत्काएका घरहरु पुननिर्माणका लागि पूर्ण क्षति भएका घरहरुलाई १० हजार रुपैंयाँ र आंशिक क्षति भएका घरहरुलाई ५ हजार रुपैंयाँ ऋण सहयोग गरेको थियो । पछि उक्त ऋणलाई अनुदान दिइएको थियो ।

०६८ असोज १ गते गएको भूकम्प विसं २०४५ मा गएको भूकम्प भन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पुर्याएको पाइएन ।

०७२ बैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको भूकम्पमा परि करिव ९ हजार जनाले ज्यान गुमाए भने हजारौं घाइते भएका थिए । साेही वर्ष बैशाख २९ गते पनि ६.९ रेक्टरस्केलकाे भूकम्प गयाे । यी भूकम्पका पराकम्पन अझै पनि गइरहेका छन् । ०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले ०४५ सालको भूकम्पलाई विर्साइदिएको छ । यो भूकम्प नेपालको इतिहासमा धेरै क्षति भएको भूकम्पको रुपमा लेखिएको छ ।

अझै पनि नेपालमा भूकम्प जान सक्नेछ । विशेषगरि पश्चिम नेपालमा यस अघि त्यति विनासकारी भूकम्प नगएकाले अब त्यस ठाउँमा ठूलो भूकम्प जान सक्ने विज्ञहरुले अनुमान गरेका छन् । यद्यपी प्राकृतिक प्रकोप कहाँ र कहिले जान्छ भन्नेमा भने यसै भन्न सकिने अवस्था रहँदैन ।

Skip This
Skip This
Logo