कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट शनिवार एक महिलाको मृत्यु भयो ।
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ९ निवासी २९ वर्षीया महिला नेपालमा कोरोना भाइरसबाट मृत्यु हुने पहिलो व्यक्ति हुन् ।
त्रिवि शिक्षण अस्पतालमा नौ दिनअघि सुत्केरी भएकी उनलाई अस्पतालबाट घर फर्केपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि उपचारका लागि ल्याइएका उनको धुलिखेल अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट मृत्यु भएको खबर सार्वजनिक भएपछि उनको शव व्यवस्थापनमा समेत सकस भयो । एकातिर रोग संक्रमण हुने डर अर्काेतिर सरकारी मापदण्ड जसले गर्दा मृतकको शव अरुले छुन र बोक्न नमिल्ने भयो ।
मापदण्ड पूरा गरेकाहरु पनि शव व्यवस्थापन गर्न त्रसित भए । तर, भक्तपुरका सामाजिक अभियन्ता अरुण सैंजु र राजेश गाईजुको टोली भने शव व्यवस्थापनका लागि तयार भए । जिल्ला स्काउट कार्यालय भक्तपूरमा सक्रिय स्काउटर हुन् सैंजु र गाइजु।

खबर पाउनासाथ उनीहरु सेना प्रहरीसहित भक्तपुरबाट धुलिखेल हानिए । उनीहरुको साहसलाई भक्तपुरस्थित सेनाको महावीर दल गणले साथ दिएको थियो । उनीहरुलाई महावीर गणले ‘डेथ बडी ह्यान्डलिङ ड्रिल’ तालिम पनि दिइएको थियो । उनीहरुले प्रशिक्षण अनुसार नै शवलाई प्लास्टिकमा प्याक गरेर एम्बुलेन्समा राखेर काठमाडौंस्थित पशुपति आर्यघाटमा ल्याए ।
उनीहरुले उच्च स्वास्थ्य सतर्कताका साथ शबलाई पशुपतिसम्म लगेर दाह संस्कार गरे । शव व्यवस्थापन सकिएपछि अरुण र राजेशलाई हाल महावीर गणको आइसोलेसनमा राखिएको छ ।

एम्बुलेन्सले विभिन्न वहानामा शव बोक्न नमानेको सुनेपछि आफूहरू तयार भएको उनीहरुले बताएका छन् । उनीहरूको यो कामको यतिबेला सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । उनीहरुको कामको प्रशंसा गर्दै अजिव बनेपानीले फेसबुकमा लेखेका छन्- ‘धुलिखेल हस्पितलको एम्बुलेन्सले कोरोनाबाट मृत्यु भएकी महिलालाई लान नमानेपछि भक्तपुरको टोलीले त्यो लासलाई पशुपतिसम्म पुर्याएर साहसी काम जुन गरे, त्यस कार्यलाई नमन छ ।’

अरुण र राजेशको समूह लकडाउन शुरु भएदेखि नै भक्तपुरमा उद्धार र सहयोग गर्न लागिपरेका थिए । उनीहरुलाई भक्तपुरकै न्हुज किजू, दीप थकूले पनि साथ दिँदै आएका छन् ।

उनीहरु भक्तपुर अस्पताल परिसरमा त्रिपाल टाँगेर बस्दै आएका छन् । अरूण सैंजु २०७२ को भूकम्पमा उद्धारकका रूपमा पुरस्कृत युवा पनि हुन् ।
भिडियो रिपोर्ट
फोटो साभार: फेसबुक





























प्रतिक्रिया