कोरोनाकै कारण पहिलो पटक स्थगित भयो बालाजु बाइसधारा मेला

कोरोनाकै कारण पहिलो पटक स्थगित भयो बालाजु बाइसधारा मेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड–१९ का कारण स्थगन गरिएको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले यस वर्ष बुधबार मेला आयोजना नगरिए पनि पूजा आराधना भने गरिने बालाजु बाइसधारा मूल पुजारी थकाली धनलाल महर्जनले बताए ।

विभिन्न समयमा भएका राजनीतिक र अन्य विषम परिस्थितिमा समेत सो मेलाले निरन्तरता पाएको थियो । बाइधारा क्षेत्रवासी एवं शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि सदियौँदेखि चलि आएको यो मेला यस वर्ष स्थगन गरिएको बताए ।

मन्त्री मानन्धरले यो जात्रा अर्थात् मेला इतिहासमा पहिलो पटक स्थगन भएको बताउँदै नित्य पूजा र अन्य पूजा भने चलिरहने व्यवस्था मिलाइएको जानकारी दिए । जात्राका दिन बाइसधारामा स्नान गरी मृत आफन्तका नाममा बत्ती बाल्ने परम्परा छ । यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिइन्छ । मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसङ्ग जोडिएको छ । नेवार समुदायले मनाउने ल्हुती पूर्णिमाको मेलासँगै मनमैजु जात्रा पनि शुरु हुने परम्परा थियो ।

यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक जनविश्वास छ । बाइसधारामा नुहाउँदा छालाका रोगसमेत निको हुने भक्तजन बताउँछन् । किंवदन्ती अनुसार विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरुप उत्पत्ति भएको थियो । यसै मान्यता अनुसार बाइसधारा जात्रा मनाइने चलन रहि आएको मानिन्छ ।रासस

Logo