- सृजना राई-
विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसको संक्रमणबाट एक हजार जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसबाट ४० हजार जना भन्दा बढी संक्रमित भएका छन् । एक जना नेपालीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो भाइरस तिव्रदरमा फैलिन थालेपछि विश्वका विभिन्न देशले चीनमा रहेका आफ्नो नागरिकहरुको उद्धार गरेका छन् । चीनको वुहान शहरमा रहेका करिव एक सय ८० नेपालीले पनि आफूहरुको उद्धार गरिदिन सरकारसँग माग गरिरहेका छन् । उनीहरुको उद्धार गर्न ढिलाइ गरेको भन्दै सरकारको आलोचना भइरहेको छ । यसै क्रममा सरकारले चीनमा रहेका नेपालीको उद्धार गरी भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने निर्णय गरेको छ ।
तालिम केन्द्र परिसरमा अहिले नेपाली सेना, प्रहरीलगायतले सरसफाई गरिरहेका छन् । उनीहरुले तालिम केन्द्रको भवनमा रहेका सामाग्रीहरुको व्यवस्थापन गरिरहेका छन् । तालिम केन्द्र परिसरलाई ‘क्वारेन्टाइन’का रुपमा विकास गरी चीनबाट ल्याइने नेपालीलाई १४ दिन त्यहाँ राखिनेछन् । त्यसका लागि आगामी फागुन ३ गते सरकारले वाइडवडी विमान चीन पठाउँदैछ ।
सर्वसाधारणदेखि जनप्रतिनिधिसम्मको विरोध
यतिबेला चीनबाट नेपालीहरुको उद्धार गर्नुपर्ने आवाज जोडतोडका साथ उठिरहेका छन् । भक्तपुर खरिपाटीका स्थानीयले भने अलि फरक माग राखिरहेका छन् । उनीहरुले एकातिर चीनबाट नेपालीहरुको उद्धार गर्न माग गरिरहेका छन् भने अर्कातिर उद्धार गरेर ल्याइएका नेपालीहरुलाई आफ्नो वस्तीमा राख्न नदिने बताइरहेका छन् । कोरोना भाइरसको संक्रमण वस्तीमा फैलिने त्रास र चिन्ता छाएको छ उनीहरुमा । भाईरस संक्रमित चीनबाट ल्याईएका नागरिकहरुलाई विना तयारी तालिम केन्द्रमा राख्न खोजेको भन्दै उनीहरुले जोखिमको संभावनातर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सर्वसाधारणमा देखिएको त्रासलाई मध्यनजर गर्दै त्यहाँको स्थानीय सरकारले पनि वैकल्पिक स्थानको खोजी गर्न संघीय सरकारलाई अनुरोध गरेको छ । चाँगुनारायण नगरपालिकाले गत शुक्रबार नै विज्ञप्ती जारी गर्दै स्थानीयमा भाइरस संक्रमणको मनोवैज्ञानिक त्रास फैलिएकाले वैकल्पिक स्थान खोज्न सरकारलाई आग्रह गरेको थियो । सरकारले आफूहरुसँग कुनै छलफल नै नगरी निर्णय गरेको तथा संक्रमणका सम्बन्धमा पनि सचेत नगराईएको भन्दै नगरपालिका र स्थानीयले विरोध गरेका हुन् ।

सरकारको तयारी र स्थानीयको गुनासो लिएर हामी प्राधिकरणको तालिम परिसरमा पुग्यौ । तर, त्यहाँका सुरक्षाकर्मीले हामीलाई भवनभित्र प्रवेश गर्न दिएनन् । तालिम केन्द्रभित्र सरसफाइको काम भइरहेको थियो भने बाहिर सरकारको विरोधमा बखरदारी नाराहरु तांगिएका थिए । उनीहरुको नारा थियो, ‘बाच्न पाउने सबै नागरिकको अधिकार हो’, ‘कोरोना भाइरस रोगको उपचार वस्ती एरियामा गर्न पाइदैन’, ‘स्थानीयको स्वास्थ्यमा खेलवाड गर्न पाइदैन’, ‘तालिम केन्द्रमा उपचार केन्द्र राख्ने निर्णय फिर्ता गर’, ‘उपचारको नाममा स्थानीय बासिन्दालाई विस्थापित गर्न पाइदैन’ ।
‘ल्याउन त पर्छ नै, हाम्रै नेपाली छोराछोरीहरु हुन् तर के गर्नु मान्छे आफ्नो भएपनि रोग आफ्नो हुदैन ।’ ६० वर्षिय नयन्द्रा श्रेष्ठले भनिन् । चीनमा रहेका नेपालीलाई छिट्टै उद्धार गर्नुपर्ने र वस्ती भन्दा टाढा राख्नुपर्ने उनको भनाइ छ । ‘यहाँ ल्याउने कुराले मुख सुकेर आउछ निन्द्रा लाग्दैन ।’ उनले भनिन् ।
स्थानीय प्रकाश लामिछाने पनि खरिपाटीका स्थानीयलाई मनको बाघले खाएको टिप्पणी गर्छन् । ‘बनको बाघले खाओस् नखाओस् तर मनको बाघले खायो भन्ने उखान जस्तै यहाँको स्थानीयहरुमा अहिले त्रास फैलिएको छ । यो कुराले ७५ प्रतिशत स्थानीय ठाउँ छोड्ने भइसकेका छन् ।’ उनले भने । सरकार पछि नहटे कडा आन्दोलन गर्ने तयारी भइरहेको उनले बताए ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले पनि सरकारी कदमको विरोध जनाएका छन् । चीनबाट ल्याइने नेपालीलाई खरिपाटीको विद्युत् प्राधिकरणमा राख्ने विषयमा सरकारले कुनै जानकारी नदिएको भन्दै उनले भने, “घना बस्तीमा रहेको विद्युत् प्राधिकरणमा राख्ने कुरा पक्कै पनि जायज छैन । स्थानीयमा मनोवैज्ञननिक त्रास बढेको छ, पर्याप्त काउन्सिलिङ् पनि नभएकोले यो विषयमा नगरपालिका पनि सहमत छैन ।” उनले भने । स्थानीयलाई संकट आउँछ कि आउदैन भन्ने कुरा राम्ररी बुझाएर मात्रै निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

चीनबाट नेपाल आउने नेपालीहरु कोरोना भाइसरबाट संक्रमित भएर आउने भने होइनन् । उनीहरुको पूर्ण रुपमा स्वस्थ परिक्षण गरेर मात्र नेपाल ल्याएर ‘क्वारेण्टाइन’मा राख्ने हो ।
नेपालीहरुलाई नेपाल ल्याउनु अघि चीनमै उनीहरुको स्वास्थ्य परीक्षण गरिनेछ । परीक्षणका क्रममा भाइरसको लक्षण देखिएमा उनीहरुलाई चीनमै ‘आइसोलेसन’ मा राखेर उपचार गरिने छ । नेपाल ल्याएकाहरुलाई त्रिभुवन विमानस्थलमा फेरि परिक्षण गर्नेछन् । विमानस्थलमा परीक्षण गर्दा लक्षण नदेखिएकालाई विमानस्थलबाट सिधै ‘क्वारेण्टाइन’मा राखिनेछ । र, लक्षण देखिएकालाई शुक्रराज ट्रपिकल अस्पताल टेकुको ‘आइसोलसन वार्ड’मा राखिनेछ ।
के हो ‘क्वारेण्टाइन’ र ‘आइसोलेसन’ ?
कुनै पनि लक्षण नभएका व्यक्तिलाई राखिने वा रोग देखिन्छ कि भनेर कुनै पनि व्यक्तिलाई ‘अब्जर्वेसन’का लागि राखिने ठाउँ क्वारेण्टाइन हो। क्वारेण्टाइनमा राखिने व्यक्तिमा कुनै पनि संक्रमण भने हुँदैन । उनीहरु स्वस्थ्य नै हुन्छन् । कोरोना भाइरसको क्वारेण्टाइन अवधि १४ दिनको रहेको छ ।
शंंकास्पद वा संक्रमित व्यक्तिबाट अन्य व्यक्ति वा स्वास्थ्यकर्मीहरुमा संक्रमण नफैलियोस् भनेर उक्त व्यक्तिको संक्रमण सर्नसक्ने समयसम्म राख्ने ठाउँलाई आइसोलेसन भनिन्छ ।
आइसोलेसनमा रोग अनुसारको कुनै खोकीबाट सर्ने हुन सक्छ भने कुनै हावाबाट सर्न सक्ने हुन सक्छ । त्यही अनुसारको उपचार पद्धती आइसोलेसनमा अपनाउने गरिन्छ ।
कहाँ पुग्यो सरकारको तयारी ?
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरुलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारीको काम सकिएको बताएका छन् । भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १९९ बेड तयार गरिएको र महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार भएको उनले बताए ।
कुनै व्यक्तिमा भोलिबाटै संक्रमण देखिएको अवस्थामा पनि उसलाई राख्ने र क्वारेन्टाइन गर्ने कुरामा समस्या नहुने उल्लेख गर्दै मन्त्री ढकालले चीनमा विद्यार्थीहरुलाई लिन जाने डाक्टर, नर्स र पाइलटहरुलाई समेत १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसको सम्पूर्णय तयारी भएको बताए ।

चीनबाट संक्रमितहरुलाई स्वदेश ल्याइन लागेको भन्ने भ्रमहरु हटाउनुपर्ने उल्लेख गर्दै ढकालले कुनै एकजनामा मात्रै पनि लक्षण देखिए चीनले नपठाउने र नेपाल ल्याएपछि १४ दिन नियमित परिक्षण गरिने बताए । क्वारेन्टाइन्मा परीक्षणका क्रममा कुनै व्यक्तिमा संक्रमणको लक्षण देखिएमा तत्काल राख्नका लागि विभिन्न अस्पतालहरुमा ४३ वटा आइसोलेसन बेडको व्यवस्था गरिएको उल्लेख गरे । त्यसका लागि २४ घण्टा नै एम्बुलेन्स र आइसोलेसन बेड उपलब्ध रहेको उनले बताए ।
मन्त्री ढकालले सबै अस्पतालका प्रतिनिधिहरुलाई बोलाएर आ-आफ्नो अस्पतालमा आइसोलेसन सहितको ठाउँ छुट्याउनुपर्ने र कुनै व्यक्तिमा आशंका देखिएमा अर्को अस्पताल रिफर नगरी त्यही राखेर उपचार गर्नुपर्ने प्रवन्ध मिलाउन निर्देशन दिइएको समेत बताए ।































प्रतिक्रिया