बसको ठक्करबाट नागार्जुनमा स्कुटर चालकको मृत्यु

बसको ठक्करबाट नागार्जुनमा स्कुटर चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवनमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–१ स्थित सडकमा शनिबार साँझ बा १ ख ६६४५ नं.को बसले बा ८५ प १४९३ नं.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धादिङकी ४८ वर्षीय लीला घलेको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटर चालककी २६ वर्षीय छोरी प्रमिला घले गम्भीर घाइते भएकी छिन् । गम्भीर घाइते घलेको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा एकको मृत्यु

भक्तपुर नगरपालिका–२ ख्वप कलेज नजिक चाँगुबाट डेकोचातर्फ आउँदै गरेको बा १३ च १०५० नं.को सामान बोक्ने गाडी गएराति आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा सोही नगरपालिका ६ बस्ने १७ वर्षीय उज्वल कासुलाको जनस्वास्थ्य अस्पताल च्यामासिंहमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

ट्रक र ट्र्याक्टर जुध्दा चालकको मृत्यु

वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बा कुनास्थित ट्रक र ट्र्याक्टर जुध्दा ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुईको मृत्यु भएको छ । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नं २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलका अनुसार मोटरसाइकल चालक धनुषा जिल्ला महेन्द्रनगर–२ घर भई हाल छिरेश्वर नगरपालिका–६ निवासी २४ वर्षीय सुनिलकुमार राय राजपुतको र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २३ वर्षीय कृष्णकुमार गुप्ताको मृत्यु भएको हो ।

दुवैको घटनास्थलमा नै मृत्यु भएको र शव सिन्धुली अस्पतालमा रहेको प्रहरीले बताएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकको मृत्यु

कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार राति करिब १२ बजेतिर लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी पूर्वपश्चिम राजमार्गको गुलरा सडकखण्डमा से २ प १८५० नंं को मोटरसाइकलसँगै मृतावस्थामा भेटिएका हुन् ।
रासस

Skip This
Skip This
Logo