जातीय विभेदमाथि सशक्त प्रहार गर्ने ‘झिम्के मामा’

जातीय विभेदमाथि सशक्त प्रहार गर्ने ‘झिम्के मामा’

केन्द्रबिन्दु
0
Shares

  • सृजना राई –

मण्डला नाटक घर अनामनगरमा अहिले जातीय विभेदमा आधारित नाटक ‘झिम्के मामा’ मञ्चन भइरहेको छ । यो नाटकले समाजमा विद्यमान जातीय व्यवस्थाप्रति व्यङ्ग्य गरेको छ ।

नेपालमा जातीय व्यवस्थालाई मुलुकी ऐन जारी भएपछि नै कानुनी रूपमा विभेदरहित बनाइएको छ । जसमा जातीय विभेद उन्मूलनको कुरा, समानताको कुरा सुन्न पाइन्छ । जब कि जातीय विभेद उन्मूलनको व्यवस्था संविधानका पाना र कानुनमा मात्र सीमित भएको पाइन्छ । व्यवहारमा भने पहिलेभन्दा केही फरक भए पनि उन्मूलन भइसकेको छैन ।

२१ औं शताब्दीमा आइपुग्दा समाजमा युवा जमातले भने जात व्यवस्था मान्दैनौं भने पनि विहावारीमा अझै पनि दिल खोलेर अघि बढ्न सकेको पाइँदैन ।

यही माघ ४ गतेबाट मञ्चन सुरु भएको नाटक ‘झिम्के मामा’ मा प्रदीप कुमार चौधरीको निर्देशन छ । नाटकले जातीय छुवाछुत र अन्धविश्वासले समाजमा ल्याउने समस्या समेटेको छ । एउटा दलित भएकै कारण गाउँ त्याग गर्नेदेखि आफ्नो प्राणसमेत त्याग गर्न विवश एक युवकको कथामा नाटक आधारित छ ।

जातीय विभेदले समाजमा गहिरोसँग जरा गाडेको गाउँको लागि एउटा अतुलनीय योगदान गरेका युवा उनको जातको कारण कतिसम्म अपमानित हुन्छन् र जातकै कारण सम्बन्धहरू कसरी टाढा हुन्छन् भन्ने कथा नै ‘झिम्के मामा’को मर्म हो ।

नाटकका नायक झिम्केको पहलमा गाउँमा विभिन्न विकास कार्य हुन्छन् । झिम्के जसले गाउँमा सुन्दर मन्दिर बनाउँछ । उसकै कारण घरघरको धारामा पानी झरेको छ, खोलामा पुल बनेको छ, गाउँमा सडक पुगेको छ, बिजुली बत्ती आउने भएको छ, मर्दा–पर्दा काँध थाप्ने उही झिम्के हुन्छ । गाउँका बुढापाकादेखि बच्चासम्मको मुखमा त्यही झिम्केको नाम झुण्डिएको हुन्छ । तर, जब उसको जात बीचमा आउँछ ऊ अपमानित, नालायक सावित हुन्छ । उसले अपमान सिवाय केही पाउँदैन । न ऊ आफैले बनाएको मन्दिरमा जान सक्छ न आफैले धारामा खसालेको पानी छुन सक्छ । जिउँदो हुँदा मात्र होइन मरेपछि पनि जातकै कारण उसको लास सड्ने अवस्थासम्म पुग्छ, लास छुनेसम्म कोही हुँदैनन् ।

मञ्चमा एउटा सुन्दर घर, कलधारा, त्यसैगरी सुन्दर चौतारा पनि देखिन्छ । चौतारामाथि एउटा मन्दिर पनि छ मन्दिर छेउमा एउटा ठूूलो घण्ट देखिन्छ । चौतारादेखि पारिपट्टि पुल पनि देखिन्छ । मञ्चका यी दृश्यहरूले दर्शकहरूलाई निकै लोभ्याउँछ ।

नाटकमा दशैं तिहार मनाउन शहरबाट सबै गाउँ आएका हुन्छन् । गाउँलेहरू चौतारामा भेला हुन्छन् । गाउँ विकासका कामकाजदेखि एक अर्काको कुरा काट्नसम्म भ्याउँछन् । गाउँ विकासमा एउटा व्यक्तिको ठूूलो हात छ भन्दै गफ चलिरेको हुन्छ । ती व्यक्ति हुन् झिम्के अर्थात् दुई साना भान्जाका पन पर्ने ‘झिम्के मामा’ ।

गाउँलेहरूले दशै तिहार बडा हर्षोल्लासका साथ मनाउँछन् । तर, नाटकको अन्त्यतिर मञ्चमा थरीथरीको आवाज सुनिन थाल्छ । यो गाउँलाई दशा लाग्यो, यो गाउँ दुष्ट भयो, झिम्केले बनाएको मन्दिरमा पूजा भयो, पुजारी बाजेले पनि गाउँ छोडेर गए, यो गाउँमा अनिष्ट भयो, सयचोटि गंगाजलले पखाले पनि यो गाउँ पवित्र हुँदैन । बारम्बार यही आवाज गुुन्जायमान हुन्छ । किनभने झिम्के सार्की भएको कुरा गाउँलेले थाहा पाउँछन् । झिम्केलाई पानी पनि खान दिँदैनन् र ऊ आफूले बनाएको मन्दिरमा आफ्नो प्राण त्याग्छ ।

झिम्केको भान्जाले आफ्नी आमालाई प्रश्न गर्छ– ‘आमा ! के सार्की मान्छे हैन ?’ यस प्रश्नले दर्शकहरूलाई भावविह्वल बनाउँछ ।

नाटकले समाजको यथार्थ घटनालाई उजागर गरेको देखिन्छ । नाटकमा सबै कलाकारहरूको अभिनय दमदार छ । नाटकले समाजमा विद्यमान जातीय व्यवस्थाप्रति व्यङ्ग्य गरेको छ ।

नाटकको प्रमुख पात्रको भूमिकामा अंकित खड्का छन् भने नाटकमा अनुप न्यौपाने, संयोग गुरागाईं, सागर खाती, रिता श्रेष्ठ, युनिस श्रेष्ठ, काव्या बराल, सुशील पाण्डे, विकास पन्त, मोहन थापा, उषाकिरण काफ्ले, क्रिजन महत, रक्षा थापा र अरविन्द अमात्यको अभिनय गरेका छन् ।

नाटक माघ २६ गतेसम्म मञ्चन हुनेछ ।

Skip This
Skip This
Logo