कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैयाको निधन

कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैयाको निधन

केन्द्रबिन्दु
0
Shares

दाङ ।

विश्वमै एकमात्र कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधन भएको छ । लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका –६ कुलमोहर निवासी ८२ वर्षीय कुसुण्डाको शनिबार निधन भएको हो ।

उनी विश्वकै एकमात्रै कुसुण्डा भाषा बोल्ने व्यक्ति थिइन् । उनको निधनसँगै कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको यस भाषाका अनुसन्धानकर्ता उदय आलेले जानकारी दिए। “विश्वमा उहाँमात्रै कुसुण्डा भाषा बोल्ने ब्यक्ति हुनुहुन्थ्यो”, उनले भने, “उहाँलाई हामीले कुसुण्डा भाषाको शब्दकोषका रुपमा समेत लिएका थियौँ, तर उहाँको निधनले कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको छ ।”

कुसुण्डा पुसको अन्तिम सातादेखि बिरामी परेकी थिइन् । उनको प्रारम्भिक उपचार लमहीस्थित फ्लोरेन्स अस्पतालमा गरिएको थियो भने थप उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो । उनको अवस्थामा सुधार नभएपछि घरमै राखिएको थियो । त्यही क्रममा शनिबार उनको निधन भएको बुहारी आशा पुनमगरले बताइन् । अब दाङको लमहीमा उनकी काकाकी छोरी कमला कुसुण्डाले मात्रै यो भाषा बोल्न सक्ने बताइएको छ ।

ज्ञानीमैयाका एक मात्र छोरा प्रेमबहादुरको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियोे । उनका दुई छोरीको विवाह भइसकेको छ । घरमा उनकी बुहारीले नै हेरचाह गर्दै आएकी थिइन् ।

कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार दाङमा ९८ र देशभर २७३ जना कुसुन्डा छन् ।
रासस

Skip This
Skip This
Logo