‘गगन थापालाई बचाउन’ भन्दै ‘कलि’ को अन्त्य गर्ने कोसिस ! (भिडियोसहित)

‘गगन थापालाई बचाउन’ भन्दै ‘कलि’ को अन्त्य गर्ने कोसिस ! (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

पशुपतिनाथ मन्दिरको उत्तरी ढोका । वाग्मती नदीको किनारमा रहेको ब्रह्मनालको माथिल्लो भागमा एउटा मन्दिर छ । मन्दिरको आसपास अवलोकनकर्ताहरूको भीड छ ।

त्यही भीड छिचोल्दै एक महिला सरासर अघि बढ्छिन् । ती महिला आक्रोशित शैलीमा विरुपाक्षको मन्दिरभित्र प्रवेश गर्छिन् । लौरोले विरुपाक्षको मूर्तिलाई हिर्काउँदै आक्रोश पोख्छिन् । ‘गगन थापालाई …गगन थापाको ज्यान खतरामा थियो ।’ उनी यस्तै यस्तै आक्रोश पोख्दै जोडजोडले मूर्तिमाथि आक्रमण गर्छिन् ।

ती महिलाले देखाएको तमासा हेर्नेहरूको भीड बाक्लिँदै गयो । भीडमा रहेको कसैले उनलाई मूर्ति नफुटाउन आग्रह गर्छ । तर उनले त्यसको कुनै पर्वाह नगरी लगातार मूर्तिको टाउको र जिउमा लौरो बर्साउँछिन् । केही बेरको आक्रमणपछि ती महिला मन्दिरबाट केही सामग्री लिएर बाहिरिन्छन् ।

युवाशक्ति र देश जोगाउनुपर्ने भन्दै उनी सरार अघि बढछिन् । तर, उनलाई कसैले पनि रोक्ने प्रयास गर्दैनन् । बरु फोटो र भिडियो खिच्छन् । तिनै फोटो र भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल हुने क्रममा छन् । भिडियो सार्वजनिक भएपछि मूर्तिको संरक्षण गर्नुपर्ने विषयमा धेरैले आवाज उठाइरहेका छन् ।

पशुपति विकास कोषका सूचना अधिकृत प्रेमहरि ढुंगानाले मानसिक सन्तुलन बिग्रिएकी महिलाले मूर्तिमाथि आक्रमण गरेको हुन सक्ने आँकलन गरेका छन् । आक्रमणबाट मूर्तिमा कुनै क्षति नपुगेको बताउँदै उनले सुरक्षामा ध्यान दिने प्रतिबद्धता जनाए ।

के हो कलि ?

विरुपाक्षको यो मूर्तिलाई कलि देवताका रूपमा लिइन्छ । यसलाई नेपालको सबैभन्दा पुरानो मूर्ति पनि भनिन्छ । यो ढुंगाको मूर्तिको कम्मरमुनिको आधा शरीर जमिनमुनि गाडिएको छ । यो मूूर्ति जब पूरै माथि आउँछ तब कलियुगको अन्त्य हुने कथन छ ।

हिन्दू शास्त्रका अनुसार सत्य, त्रेता, द्वापर र कलियुग पर्दछन् । चार युगमध्ये सत्य युगलाई पहिलो युग मानिन्छ भने कलियुगलाई अन्तिम युग पनि मानिन्छ । शास्त्रहरूका अनुसार अहिलेको समय कलियुग हो ।

३१३७ ईसा पूर्वमा भएको महाभारत युद्धमा कृष्णको देहान्त भएपछि कलियुगको आरम्भ भएको मानिन्छ । पशुपतिको दर्शन गर्न जाने दर्शनार्थीहरू उत्सुकताका साथ कलि देवता हेर्न पुग्छन् । कतिपयले यो मूर्ति जमिनको सतहबाट विस्तारै माथि सर्दै आएको कुरा सुनाउँछन् । हेरौं भिडियोमा :

 

Logo