अब स्मार्ट ट्राफिक व्यवस्थापन, काठमाडौंका ४५ ठाउँमा ट्राफिक र पेडेस्ट्रियन लाइट

अब स्मार्ट ट्राफिक व्यवस्थापन, काठमाडौंका ४५ ठाउँमा ट्राफिक र पेडेस्ट्रियन लाइट

केन्द्रबिन्दु
0
Shares

  • रामजी बलामी-

काठमाडौंको एक अस्पतालमा सवारी चालकका रुपमा कार्यरत रमेश तामाङ केही दिनअघि अचम्ममा परे । करिब ११ वर्षदेखि सवारी चालकका रूपमा काम गरिरहेका उनलाई अचम्मित तुल्याउने त्यस्तो अनौठो कारण केही पनि होइन । काठमाडौंको चोक चोकमा बल्न थालेको ट्राफिक लाइटका कारण उनी अचम्मित बनेका हुन् । आफूले ‘इमर्जेन्सी ब्रेक’ लगाउनु परेको स्मरण गर्दै उनी भन्छन्, “अचेल सवारी चलाउँदा ख्याल गर्नुपर्ने भएको छ, मनपरी सवारी चलाउने बानी परेका हामीलाई अचेल चोक चोकमा राखिएका ट्राफिक लाइटले झुक्याइरहेको छ ।”

नेपालमा पहिलो पटक वि.सं २०२३ सालमा सिंहदरबार, राजदरबारको दक्षिणी ढोका, सुन्धारा र नयाँ सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो । त्यसपछि वि.सं २०५८ मा जापान सरकारको सहयोगमा ट्राफिक बत्ती जडान गरिएको थियो ।

पछिल्लो समय ती बत्तीहरू बिग्रिएर माकुरा र परेवाको गुँड बनेका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रवि कुमार पौडेलले एक महिनाअघि केन्द्रबिन्दुसँग कुरा गर्दै उपत्यकाका ८२ प्रतिशत ट्राफिक लाइटले काम नगरेको बताएका थिए । उपत्यकाको नयाँ बानेश्वर, सिंहदरवार गेट अगाडि, महाराजगञ्ज, गौशाला र भक्तपुरको सूर्यविनायकमा मात्रै ट्राफिक बत्तीले काम गरिरहेको थियो ।

१३ वर्षपछि २९ ठाउँमा ट्राफिक बत्ती

माघको पहिलो साता उपत्यकाका विभिन्न ८ ठाउँमा ट्राफिक बत्ती बल्न थाल्यो । कहिल्यै बत्ती नदेखिएका चोकहरूमा समेत बत्ती बलेको देखेपछि सवारीचालक र बटुवाहरू अचम्मित बने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको समन्वयमा १३ वर्षपछि उपत्यकाको चोकहरुमा ट्राफिक बत्ती जडान गरिएको हो । अहिले पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने, गौशाला र ललितपुरको महापालमा ट्राफिक बत्तीले काम गरिरहेको छ ।

सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि लागू गरेको ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ अन्तर्गत ट्राफिक बत्ती जडान गरिएको हो । पुस १५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्यायोजना पास गरेको थियो । उपत्यकाको मित्रपार्क, कालीमाटी, टङ्केश्वर, परोपकार र पुल्चोकमा ट्राफिक बत्ती चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

कार्ययोजना अनुसार उपत्यकाका विभिन्न २९ ठाउँमा ट्राफिक बत्ती राख्ने उल्लेख छ । आगामी वैशाखभित्र बत्ती जडान गरी सञ्चालनमा ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सडक विभाग, महानगरीय ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, अर्थ मन्त्रालयलगायतलाई निर्देशन दिइएको छ । आगामी असारभित्र स्मार्ट प्रविधिबाट ती बत्तीहरू सञ्चालन गर्ने समेत योजना छ ।

कहाँ कहाँ थपिँदैछ ट्राफिक लाइट ?

उपत्यकाको नयाँ बानेश्वर, सिंहदरबार, गौशाला, महाराजगन्ज चोक, कालिमाटी, तीनकुने, पद्मोदय चोक, पुतलीसडक, बागबजार, पुरानो बानेश्वर र मित्रपार्कमा रहेका ट्राफिक लाइट मर्मत गरी सञ्चालनमा ल्याइने भएको छ ।

यसका साथै जावलाखेल, थापाथली, माइतीघर, बाँसघारीमोड, कृष्ण पाउरोटी, काठमाडौं प्लाजा, जय नेपाल हल, नागपोखरी, गैरीधारा, एकेडेमी जङ्कसन, लोत्सेचोक, कुमारी मन्दिर, ज्ञानेश्वरचोक, रातोपुल, तिलगंगा, कलंकी, नयाँबाटो, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, काठमाडौं महानगरपालिका गेट, नागस्थान, जमल, केशरमहल, लैनचौर, डिडिसीमोड, खानी विभाग, दरबारमार्ग दक्षिणगेट र महेन्द्र सालिक गरी २९ ठाउँमा नयाँ ट्राफिक लाइट थप्ने कार्ययोजना छ ।

२६ ठाउँमा पेडेस्ट्रियन लाइट

सरकारले काठमाडौं उपत्यकामा रहेका १० ठाउँको पेडेस्ट्रियन लाइटहरुलाई मर्मत गरी सञ्चालनमा ल्याउने भएको छ । उपत्यकाको सिंहदरबार चोक, शंकरदेवअगाडि, त्रिचन्द्र कलेजअगाडि, काठमाडौं महानगरपालिका अगाडि, पुरानो अमेरिकन लाइब्रेरी खिचापोखरी मोड, भोटेबहाल, साल्ट ट्रेडिङ अफिस कालिमाटी, कालिमाटी चोक, दमकल मोड र अल्का अल्पताल जावलाखेलमा रहेका पेडेस्ट्रियन लाइट मर्मत गरी सञ्चालन ल्याइनेछ ।

त्यस्तै सरकारले विभिन्न १६ ठाउँमा नयाँ पेडेस्ट्रियन लाइट राख्ने भएको छ । चुच्चेपाटी, गोपीकृष्ण हल अगाडि, शिक्षण अस्पताल महाराजगन्ज, वसुन्धरा, रातोपुल, सानो गौचरण, जयबागेश्वरी, एसओएस चोक, सुकेधारा, धुम्बाराही, गंगालाल अस्पतालअगाडि, गोंगबु, कालो पुल, मित्रपार्क, महानगरीय प्रहरी वृत्तअगाडि (तीनकुने) र भाटभटेनी (राधेराधे) भक्तपुरमा पेडेस्ट्रियन लाइट राखिने भएको हाे ।

४८ ठाउँमा दायाँ मोड्न निषेध, १० ठाउँमा ‘वान वे’

अब काठमाडौं उपत्यकाका ४८ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध गर्ने भएको छ । त्यस्तै ट्राफिक जाम बढी हुने १० ठाउँमा ‘वान वे’ का रूपमा मात्र सवारी चलाउन पाइनेछ ।

Logo