लठ्याउने सुई लगाई आफन्तबाटै बेचिइन् बालिका

लठ्याउने सुई लगाई आफन्तबाटै बेचिइन् बालिका

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

बान्ता नआउने औषधि भनेर लठ्याउने सुई लगाई १५ वर्षीय बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ ।

काठमाडौँको एक होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोट सूर्यगढी गाउँपालिका–६ घर भई हाल ललितपुरको चापागाउँ बस्ने कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया लामाले बालिकालाई पढाई दिने प्रलोभनमा पारेर भारतमा बेचेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा अभियुक्त लामाले ०६८ सालमा आफ्नै नजीकको नाता पर्ने बालिकालाई यसरी बेचेको खुल्न आएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

आरोपी लामालाई आठ वर्षपछि हिजो प्रहरीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिकास्थित देउवाचोकबाट पक्राउ गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोप लागेका सोही ठाउँका ४२ वर्षीय शेरबहादुर लामा भने फरार रहेको प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले जनाएको छ । “उनले बालिकालाई घर जाने बाहानामा बसमा चढाई बान्ता नआउने औषधि भनी लठ्याउने औषधि खुवाएर भारत लगेको र उनी होसमा आउँदा भारतको मधुन भन्ने ठाउँमा पुगेको खुल्न आएको छ”, प्रहरी उपरीक्षक थपलियाले भन्नुभयो । लामाले दोस्रो दिन सोही ठाउँको एक कोठी सञ्चालक लक्ष्मी र हेमालाई १० हजार भारतीय रुपैयाँमा बेचेको ब्यूरोले जनाएको छ ।

बालिकालाई कोठी सञ्चालकले करीब एक महिना कोठामा बन्धक बनाई शारीरिक वृद्धिका लागि सुईको प्रयोग गरी औषधि खुवाएको अनुसन्धानबाट पत्ता लागेको छ । त्यसपछि भारतको नयाँ दिल्लीस्थित कोठी नं ५११ मा दुई, कोठी नं ६४ मा दुई वर्ष र कोठी नं ४० मा १५ दिन राखी यौनधन्दामा लगाइएको थियो ।

सोही क्रममा एक नेपाली ग्राहकलाई बालिकाले पीडा सुनाएपछि उनकै पहलमा बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनले बालिकालाई उद्धार गरी माइती नेपालमा ल्याएका थिए । माइती नेपालले बालिकालाई कात्तिक २० गते ब्यूरोमा बुझाएको थियो । उनको जाहेरीका आधारमा प्रहरीले अभियुक्त लामालाई आज पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक अनुपमशमशेर जवराले जानकारी दिनुभयो ।

Skip This
Skip This
Logo