काठमाडौँ,
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले वि.सं ०५७ चैत २९ गते काभ्रेको नवोबुद्ध नगरपालिका–११ स्यामपाटीको विमिरे गाउँको आफ्नै घरमा बाबु धमैसिंह तामाङकोे हत्यामा संलग्न छोरा रनबहादुर तामाङलाई सोमबार काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बुबा र छोराको घरायसी विषयमा सामान्य विवाद हुँदा छोराले घाँटी रेटेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो ।
“बुबाको हत्यापछि वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएका छोरा रनकाजी काठमाडौँ आएपछि विभिन्न स्थानमा लुकेर बसेकाले २० वर्षपछि पक्राउ गरेका हौँ,” उहाँले भन्नुभयो । उनले काठमाडौँमा आएर आफ्नो वास्तविक परिचयसमेत लुकाई विभिन्न स्थानमा लुकेर बसेको ब्यूरोले जनाएको छ ।
सवारी दुर्घटना मुद्दाका फरार व्यक्ति जेल चलान
नेपाल प्रहरीले सवारी दुर्घटनाबाट अङ्गभङ्ग मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुनसरीमा सवारी दुर्घटना गरेर फरार पिकअफ भ्यान सवारीका धनी तथा चालक ३३ वर्षीय अशोक कार्कीलाई आइतबार पक्राउ गरी आज जेल चलान गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले सुनसरी जिल्ला अदालतको फैसला अनुसार पाँच वर्ष कैद सजाय र पाँच हजार जरिवानापछि फरार कार्कीलाई कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । कार्कीले बा १ च ८६१० नं को पिकअफ भ्यान चलाएका थिए । पक्राउ कार्कीलाई सोमबार काठमाडौँ जिल्ला अदालतमार्फत जेल सजायका लागि सुन्धारा जेल पठाइएको ब्यूरोले जनाएको छ ।





























प्रतिक्रिया