छुट्टा छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

छुट्टा छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नवलपरासी,

नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४ बस्ने २७ वर्षीय हरि अधिकारी क्षेत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्षेत्रीको उपचारको क्रममा पोखरा मनिपाल कलेजमा शुक्रबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले बताउनुभयो ।

दुर्घटनामा परी देवचुली–१०, बस्ने २७ वर्षीय आशिस खनाल, सोही स्थान बस्ने १९ वर्षीय सूचना पाण्डे, देवचुली–१, बस्ने ३० वर्षीय पवन तिवारी र २४ वर्षीया सङ्गीता पोखे्रल घाइते हुनुभएको छ । घाइते चारै जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । निरन्दीखोलाको उकालोमा जीपले लोड तान्न नसकेपछि दुर्घटनामा परेको हो । जीपमा करीब १७ जना सवार रहेको प्रहरीले जनाएको छ ।

माइक्रोले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

यस्तै धादिङको गल्छी गाउँपालिका वडा नं ७ खेस्टेखोलामा माइक्रोले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

लमजुङको बेसीशहरबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख ७२८४ नम्बरको माइक्रोले शुक्रबार सोही दिशातर्फ जाँदै गरेको बा ४९ प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नं १२ भट्टगाउँका २३ वर्षीय रामकृष्ण भट्टको मृत्यु भएको छ । माइक्रोको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारका लागि काठमाडौँ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्याफयका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

Logo