गोरखा दरबारको दशैँ घरमा राखियो जमरा, ७४ पशुपक्षी तथा जनावरको बलि

गोरखा दरबारको दशैँ घरमा राखियो जमरा, ७४ पशुपक्षी तथा जनावरको बलि

केन्द्रबिन्दु
0
Shares

गोरखा । गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर ३५ मिनेट अर्थात् १२ घडी २७ पलामा जौको जमरा राखिएको मन्दिरका मूल पुजारी लीलाबहादुर बोहोराले जानकारी दिए ।

परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौँ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उनले बताए । कालिका भगवती मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले बताए ।

यसअघि मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीका सवारी गराउने प्रचलन रहँदै आएको भए पनि भूकम्पले मूल दरबारमा पूर्ण क्षति पुगेकाले कैलाश कोठाको थपना गरी देवीको सवारी गराइएको बताए ।

जमरा राख्नुअघि मूल दरबारमा नै पानी घडी थपना गर्नुपर्ने प्रचलन रहेको भए पनि दरबार जीर्णोद्धारका लागि भत्काइएकाले नयाँ स्थानमा पानी घडी थपना गरी घटस्थापना गरिएको उनले बताए । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मालम्बीले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ ।

बडादशैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा शुरु भएसँगै कालिका मन्दिरमा नियमित रुपमा कालो बोका बलि दिने प्रचलन रहँदै आएको छ । यसपटक दशैँ अवधिभरिसम्म यो ३२ बोका, १२ भेडा, पाँच सुँगुर, एक सतारसहित १५ वटा राँगो र नौ कुखुरा बलि दिने उनले बताए ।

यसअघि राजसंस्था रहँदासम्म मन्दिरमा १४० भेडाबोका र एक सतारसहित ८४ वटा राँगा बलि दिने प्रचलन रहँदै आएको थियो । राजसंस्थाको अन्त्य भएसँगै गोरखा दरबार हेरचाह अड्डामा दशैँ पूजाका लागि आवश्यक बजेटमा कटौती हुँदै आएकाले पशुपन्छीको बलिसमेत घटाइएको उनको भनाइ छ ।

यस्तै घटस्थापनाका बिहानको शुभसाइतमा गोरखाको मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका पुजारी इन्सान थापाले जानकारी दिए । मनकामना मन्दिरमा भने मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको हो ।

परम्पराअनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण सोही अनुसार नित्य पूजा गरी जमरा राखिएको मूल पुजारी थापाले जानकारी दिए । गणेश र कलश स्थापना गरी दुवै ठाउँमा जमरा राखिएको उनको भनाइ छ । रासस

Skip This
Skip This
Logo