काभ्रेमा सञ्चालित पुनःनिर्माण कार्यक्रम वडालाई हस्तान्तरण

काभ्रेमा सञ्चालित पुनःनिर्माण कार्यक्रम वडालाई हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँगको समन्वयमा कारितास नेपालले भूकम्पपछि काभ्रेको चौरीदेउराली गाउँपालिकामा सञ्चालित ‘नेपाल भूकम्प पुनःनिर्माण कार्यक्रम’ सम्पन्नपछि वडालाई हस्तान्तरण गरिएको छ ।

भूकम्पपछि पुनःनिर्माणको काममा कारितासले सहयोग गर्दै आएकोमा काभ्रेको दुर्गम कोशीपारि क्षेत्रको चौरीदेउराली गाउँपालिकास्थित वडा नं १ को सानोवाङथली, २ को नाग्रेगगर्चे र ३ को माझीफेदामा निजी आवास पुनःनिर्माण, खानेपानी सरसफाइ तथा स्वच्छता, जीविकोपार्जन र विपद् जोखिम न्यूनीकरण कार्यक्रमका सँगै मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रम सम्पन्न भएपछि स्थानीय वडालाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य रत्न ढकालले भौगोलिकरुपमा पछाडि परेका कोशीपारि क्षेत्रमा कारितास नेपालले ठूलो सहयोग पु¥याएको बताउनुभयो । “गाउँपालिकाको पनि विकट ठाउँमा आएर दुई वर्षसम्म काम गरेर जनताको मन जित्ने संस्था बनेको छ ।” उहाँले भन्नुभयो, “सबै संस्थाले मन जिन्दैनन्, आएर परियोजना सकेपछि उनीहरु पनि त्यतिकै फर्कन्छन् तर कारितासले सकेर पनि वडा सरकारलाई गरेको कामको प्रगति विवरणसहित भावी दिनमा संरक्षणको लागि जिम्मा लगाएको कार्यक्रम नमूनायोग्य भएको छ ।”

सो क्रममा उहाँले कोशीपारिको लागि विकास निर्माणको काममा पहिलो प्राथमिकता सडक निर्माण र विस्तार गर्नु रहेको बताउनु भएको छ । वडा नं २ का वडाध्यक्ष दिनेश लामाले नाग्रेगगर्चेमा २० वर्षपछिको ठूलो सहयोग कारितास नेपालबाट पाएको बताउनुभयो । “यस अघि यहाँका जनताले त्यस्तो सबै प्रकारका सहयोग एकै पटक पाएका थिएनन् ।” उहाँले भन्नुभयो, “भूकम्पपछि समस्यामा रहेका यहाँका स्थानीय बासिन्दाको लागि निजी आवास निर्माण, जीविकोपार्जन, कृषि, सरसफाइ र जोखिम न्यूनीकरण लगायतका काममा ठूलो सहयोग पाएको छ ।”

वडा नं ३ का वडाध्यक्ष विनोद घिसिङले विकट क्षेत्रमा सङ्घ/संस्था जान नचाहेको अवस्थामा अनेक समस्याको चपेटामा रहेको ठाउँमा कारितासले पु¥याएको सहयोग अतुलनीय रहेको बताउनुभयो । “प्राय सङ्घ/संस्थाले तालीम, गोष्ठी र छलफलमा समय र रकम सकाउने गरेको अवस्थामा कारितासले जीवनस्तरमा नै प्रत्यक्ष फाइदा पुग्ने काम गरेको छ”, घिसिङले भन्नुभयो ।

कारितास नेपालले सो कार्यक्रमका लागि करीब पाँच करोड बराबर सहयोग गरेको जनाएको छ । सो क्षेत्रमा उक्त संस्थाले भूकम्प पुनःनिर्माणको क्रममा घर बनाएका स्थानीयलाई थालनीको शुरुदेखि अन्त्यसम्म प्राविधिक सहयोग गर्नुका साथै कृषि, पशुपालन क्षेत्रमा काम गरेको छ । जिल्लाको साविक १५ वटा गाविसमा सो काम गरिरहेको र अब सबैजसो ठाउँमा भएका कार्यक्रम अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक सुवास सापकोटाले बताउनुभयो ।
रासस

Logo