नेपाल पञ्चाङ्ग निर्णायक समितिले कार्तिक ११ गते म्ह पूजा र १३ गते नेपाल संवत् मनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अहिले नेपाली पात्रोहरुमा अहिले कार्तिक ११ गते म्ह पूजा र १३ गते नेपाल संवत् उल्लेख छ।
तर यो निर्णयमा नेवार समुदायको भने आपत्ती छ। नेपाल भाषा मंका खल: काठमाडौंका सचिव नरेशवीर शाक्यले पञ्चाङ्ग निर्णायक समितिको निर्णयले नेवार समुदायको परम्परा र आस्थामाथि प्रहार हुने गरी दुष्प्रचार गरेको बताएका छन् ।
यस विषयमा जानकारी दिन नेपाल भाषा मंका खल काठमाडौंले आयोजना गरेको पत्रकार सम्मेलनमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पञ्चाङ्ग निर्णायक समितिलाई तिथिको गणित मात्र नभई परम्परादेखि चल्दै आएको व्यवहारमा पनि ध्यान दिन आग्रह गरे । प्रा.डा. त्रिरत्न मानन्धरले तिथिलाई व्यवहारमा लागू गर्ने उपायहरू हुँदाहुँदै पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले त्यसलाई बेवास्ता गरेकामा असन्तुष्टि पोखे ।
मंका खलले यस वर्षको नेपाल संवत् ११४० को नयाँ वर्ष तथा म्हपूजा कार्तिक १२ गते मंगलवार मनाउन आग्रह गरेको छ । नेपाल संवत कछलाथ्व प्रतिपदाका दिन परिवर्तन हुने र यसै दिनमा नेवारहरुले म्हपूजा गर्ने चलन सयौं वर्षदेखि व्यवहारमा रहेको जारी विज्ञप्तिमा उल्लेख छ।
औंसीका दिन म्हपूजा गर्नु र दुतियाका दिन नेपाल संवत परिवर्तन हुने भनि दुष्प्रचार गरेर म्हपूजा र नयाँ वर्ष अलग गरी विभाजन ल्याउनु र किजापूजा प्रतिपदाका दिन गर्ने भनी विवादास्पद तिथि उल्लेख हुनु नेवारी संस्कृति र परम्परागत मान्यता विपरित रहेको मंका: खलको ठहर छ ।






























प्रतिक्रिया