जीवन र मृत्युबीच ठ्याक्कै एक हातको फरक रहेछ !

जीवन र मृत्युबीच ठ्याक्कै एक हातको फरक रहेछ !

केन्द्रबिन्दु
0
Shares

  • कृष्णसिंह धामी ।

काठमाडौं । ‘माघ २४ गते डरलाग्दो दुर्घटना भयो । जसमा मेरो पूरै परिवार पर्‍यो । एक फिट पनि पर गएको भए हामी त्रिशुलीमा जान्थ्यौँ । धन्न बाँचियो । अहिले सपरिवार नाफाको जिन्दगी जिइरहेका छौं ।’ यो कुरा गर्दैैगर्दा सञ्जय काउछा निकै भावुक बने । २०७५ माघ २४ गते काउछाको पूरै परिवार भयानक दुर्घटनामा परेको थियो । एक हात मात्रै पनि पर गएको भए उनीहरू सबैजनालाई त्रिशुलीले निलिसक्थ्यो । तर उनीहरूले दोस्रो जिन्दगी पाए ।

नाफाको जीवन बाँचिरहेका काउछाले ‘जिन्दगी’ कथासंग्रह बजारमा ल्याएका छन् । काउछाले लामो समयदेखि तयारी अवस्थामा रहेको उक्त कथासंग्रह प्रकाशन गर्न सकेका थिएनन् । विभिन्न कारणले प्रकाशन गर्न नसकिरहेका काउछालाई त्यो भयानक दुर्घटनापछि भने जिन्दगी के नै रहेछ र भन्ने लाग्न थाल्यो र नाफाको जिन्दगीमा उनले जिन्दगी कथासंग्रह प्रकाशन गरे ।

काउछा साहित्यसँगै फिल्म निर्देशनमा पनि अब्बल छन् । अहिलेसम्म धेरै वटा सर्ट मुभी तथा केही फिल्म समेत निर्देशन गरिसकेका छन् । सानैदेखि कलाकारिता क्षेत्रमा रुचि राख्ने काउछाले कहीँ कोहीबाट नसिकेरै फिल्म निर्देशन गर्न थालेका थिए ।

गुल्मीको धुर्कोटमा २०३३ सालमा जन्मिएका काउछाको परिवार २०४५ सालमा रूपन्देहीको कञ्चनगाउँपालिका–५ मा सरेको थियो । १३ वर्षसम्म उनको बाल्यकाल धुर्कोटमै बित्यो । उनी सानै उमेरदेखि नाच्न गाउनमा निकै रुचि राख्थे । उनका हजुरबुबा मारुनी नाच्थे । उनी प्रसिद्ध यति थिए कि गाउँघरमा जहाँ पनि मारुनी नाच्न लैजान्थे । हजुरबुबाकै गुण काउछामा पनि सर्‍यो । विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा उनलाई विशेष पात्रका रूपमा लिइन्थ्यो तसर्थ अधिकांश कार्यक्रमको उनी आकर्षणका रूपमा रहन्थे ।

काउछा भन्छन्– २१ वर्षको उमेरमा गाउँकै एक केटी खुब मन पर्‍यो । गाउँ एउटै भए पनि स्कूल फरक थियो । गाई चराउन जाँन्दा मन परेको थियो । मुडी र झोक्की स्वाभावकी थिइन् । ती युवतीले सञ्जयलाई भाउ दिन्नथिन् । तर पनि उनले पिछा गर्न छाडेनन् । काउछा सम्झन्छन्– पूर्णिमाको दिन थियो । स्वस्थानी व्रतको कथा थियो । उनी पूजामा जान लागेकी थिइन् । सेतो पहिरनमा सजिएकी उनी सञ्जयको आँखावरिपरि घुम्नथालिन् । ‘मान्छे काली काली भएपनि त्यो सेतो पहिरनले म त पुरै फिदा भएँ । मैले सिधै भन्न आँट गरिन र एक पेग लगाएर आएँ ।

अनि म तपाईलाई मन पराउँछु भनिदिएँ । त्योभन्दा अगाडि पनि बेला बेला भनेको थिएँ । तर कुनै मतलब गर्नुभएन । त्यो दिन कि त वार कि पार भन्ने हिसावले गएको थिएँ। उनले यस र नो केही नभनेपनि ग्रिन सिग्नल भने दिइन् । त्यसपछि म पनि मख्ख भएँ ।’ त्यो प्रेम सम्बन्ध करिब एक वर्षजति रह्यो । अन्ततः काउछाले भलासँगको मायाप्रेमलाई विवाहमा परिणत गरे । उनीहरूका तीन सन्तान छन् ।

काउछा आफूलाई यायावर भन्न रूचाउँछन् । घरभन्दा बाहिर बढी हुने भएकाले आफूलाई यात्रीका रूपमा चिनाउने गर्छन् ।सञ्जयलाई अहिलेसम्म श्रीमतीले निकै साथ दिएकी छन् । श्रीमतीकै कारण पनि उनी यहाँसम्म पुग्न निकै बल पुगेको बताउँछन् । ‘उहाँ मेरो जीवनसाथी मात्र नभएर मेरो अभिभावक पनि हो । अझै पनि आफूलाई बच्चा जस्तै लाग्छ । उहाँ मेरो आमाजस्तै लाग्छ ।’ श्रीमतीको बयान गर्दै सञ्जय सुनाउँछन् ।

चलचित्र क्षेत्रमा पनि काउछाले दशक बढी बिताइसके । तर पनि उनी उचाइमा भने पुग्न सकेननन् । सुरुमा उनले फेरचुम्खान (सूर्योदय) भन्ने मगर भाषाको चलचित्र निर्देशन गरे । त्यसले उनलाई केही भए पनि चिनाउने प्रयास गर्‍यो । तर त्यसपछि उनले आफूलाई राम्रोसँग चिनाउने गरी काम गर्न सकेनन् । जसले गर्दा उनी चलचित्र क्षेत्रबाट ओझेलमा परे ।

काउछाले सुरु सुरुमा केही चलचित्रमा राइटिङ, डाइरेक्सन गरे । त्यो बेला चलचित्र पढाइ हुने कुनै कजेल थिएनन् । जसले गर्दा उनलाई पढेर भन्दा पनि परेर चलचित्र निर्देशक बनायो ।‘सानो छँदा दशैँताका रेडियो नेपालमा आउने रेडियो नाटकले मलाई पनि त्यसतर्फ रुचि बढायो । हामी देवी देवताका नाटकहरू खुबै सुन्थ्यौं । मलाई पनि त्यहीबाट प्रभाव पर्‍यो । त्यसपछि विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा नाटक गर्न थाले । सडक नाटकहरूमा मैले नै डाइरेक्सन गर्थें ।’ विगत सम्झँदैसञ्जयले भने । त्यस्तै अरूले बनाएका चलचित्र पनि हेर्दा समीक्षकको रूपमा अगाडि आउँथे । यहाँनेर यो गरेको भए हुन्थ्यो, यहाँ नेर यो मिस्टेक छ भन्दै समिक्षा गर्थे । यसले गर्दा पनि सञ्जयलाई यस क्षेत्रप्रति रुचि बढ्यो ।

काउछा दामभन्दा नाम कमाउन चाहन्छन् । पैसाभन्दा पनि पहिला आफ्नो नाम चलोस् भन्ने उनको चाहना हो । उनले अहिलेसम्म दर्जन बढी चलचित्र निर्देशन गरिसकेका छन् । पछिल्लो चलचित्र ‘डु यू लभ मी’ अहिलेसम्म रिलिज हुन पाएको छैन । सबैभन्दा राम्रो बनेको डु यू लभ मि अहिलेसम्म रिजिल हुन नपाउँदा उनलाई आफ्नै समीक्षा गर्न कठिन भएको छ ।‘चलचित्र रिलिज नहुँदा दर्शकमाझ छोडिएको भए कस्तो प्रतिक्रिया पाइन्थ्यो भन्ने पनि जान्ने मौका पाइएन । मेरो रिजल्ट बाहिर आउन पाएन ।’ उनले भने ।

काउछालाई आफ्नो मार्केटिङ गर्न नसकेको पनि पछुतो लागिरहेको छ । एकदुई गफ दिने अलिकति बढाइचढाइ बोल्दा आफ्नो उचाइ बढ्ने भए पनि आफूले त्यसो गर्न नसकिएको उनको अनुभव छ । ‘यो क्षेत्रमा १२ हातको बाघ देख्नुभयो भने कमसे कम तपाईंले २० हातको बाघ देखेथेँ भन्ने खालको गफ दिन सक्नुभयो भने मात्र तपाईं चर्चामा आउनुहुन्छ । तपाईको क्वालिटी आफ्नो ठाउँमा छ । तर गफ पनि दिन जान्नुपर्ने हुन्छ नत्र टिक्न सकिँदैन ।’उनले आफ्नो अनुभव यसरी सुनाए । ‘चलचित्र क्षेत्रमा क्षमताभन्दा पनि अरूलाई कसरी इम्प्रेस पार्नुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । मान्छेभन्दा यहाँ त कपडा हेरिने क्या ! तर ममा त्योचाहिँ भएन । जसले गर्दा म पछाडि परेँ । बजारमा बिक्न सकिन ।’काउछाको गुनासो छ ।

एकपटक सुलेमान शंकर (इकू) सँग चलचित्र बनाउने कुरा भयो । त्यसपछि हामी चलचित्र बनाउने तयारीमा लाग्यौँ । त्यसैको कुरा गर्न सिटी सेन्टरमा बसिरहेका थियौं । त्यहाँ एक जना चर्चित प्रोड्युसर पनि आउनुभयो । इकूले उहाँसँग परिचय गराउनुभयो । त्यसपछि सम्झौता गर्ने र काम अघि बढाउने सहमतिपछि हामी छुट्टियौं । छुट्टिने बेला इकूले मलाई ल सञ्जय सर अब तपाई प्रोड्युसर हो अलि ख्याल गर्नुहोला भन्नुभयो । तर मैले के ख्याल गर्ने भन्नेबारे बुझ्न सकिन । त्यसपछि एकजना साथीले मलाई त्यसको अर्थ बुझाउनुभयो ।

‘भाइ, तिमीले डाइरेक्टर त लियौ तर मान्छे हेर्दा पनि कस्तो कस्तो ? किचनमा काम गर्नेजस्तो छ’ भनेर त्यो बेला चर्चित प्रोड्युसरले इकूलाई भन्नुभएको रहेछ । मैले बुझ्न निकै ढिला गरेछु । त्यही बेला निकै गफ दिनुपर्ने रहेछ । तर मैले त्यसो गरिन । त्यसपछि उहाँले मेरोबारे यस्तो धारणा बनाउनुभएको रहेछ ।

‘यस्तै कारणले म पछि परेको हुँ । डु यू लभ मि रिलिज हुन पाएको भए उहाँले पनि मेरोबारे त्यस्तो धारणा बनाउनुहुनेथिएन । करिब चार वर्ष मैले त्यही फिल्म बनाउन समय बिताएँ । तर रिलिज हुन पाएन ।’सञ्जय सुनाउँछन् । उनले अहिलेसम्म गरेका सबै चलचित्रको डाइरेक्सनसँगै स्टोरी लेख्ने काम पनि गरे ।

सञ्जयको पहिलो कथासंग्रह ‘जिन्दगी’ मा आठ वटा कथाहरू समेटिएको छ । उनले जिन्दगी २०५७ सालदेखि लेख्न थालेका थिए । तर प्रकाशन गर्न सकेका थिएनन् । २०७५ को डरलाग्दो दुर्घटनापछि छोरा अढाई महिना कोमामा रह्यो । उनी २५ दिन बेड भर्ना भए । श्रीमतीको सातवटा करङ भाँच्चियो । आमा अझै अशक्त छिन् । जुन उनको परिवारको लागि कालो दिन थियो । त्यही घटनाबाट उनी जीवन र मृत्युबीचको फासला ठ्याक्कै एक हातको फरक हुन्छ भन्ने निष्कर्षमा पुगे । यद्यपि कथासंग्रहमा उनकोे जीवनी भने छैन । दुर्घटना भएपछि प्रकाशनमा आउनु र कथासंग्रहको शीर्षक पनि जिन्दगी हुनु संयोग मात्र हो भन्छन् काउछा ।

काउछाको कथासंग्रहमा जिन्दगीका विभिन्न आयामहरू समेटिएका छन् । उनले साहित्यकार बन्छु भनेर कहिल्यै लेखेनन् । ‘मनमा केही फुर्‍यो कि लेख्ने गरियो । तर साहित्यकार नै बन्छु भनेर कहिल्यै अघि बढिएन’ उनी भन्छन् । सधैँ अरूका किताबहरू पढ्दै गर्दा काउछालाई निकै इरिटेड हुनथाल्यो । अरूको मात्र किताब पढ्ने आफ्नो कहिले पढ्ने भन्दै त्यसतर्फ उनको ध्यान गयो । यस्तै सोचका कारण उनले कथासंग्रह लेखेका हुन् ।

काउछा कहिल्यै पनि कसैसँगै खुलेर कुरा गर्न सक्दैनथे । चाहिने जति बोल्ने आफ्नो काम धन्दामा लाग्ने उनको सानैदेखिको स्वभाव हो । उनी भन्छन्– अहिले यो कथासंग्रहले राम्रो प्रतिक्रिया आइरहेको छ । पढेका साथीभाइहरूले राम्रै प्रतिक्रिया दिइरहेका छन् । केही समय चलचित्र क्षेत्रबाट टाढा रहेका सञ्जय यो क्षेत्रलाई सधैको लागि छोड्न चाहन्छन् । तर उनको मनले मान्दैन । उनी भन्छन्, कसैले मेरो कञ्चटमा पेस्तोल राखेर तैंले यो फिल्म डाइरेक्सन गर्नुपर्छ भनेर धम्की दिँदा पनि गर्दिन भन्ने थियो । तर कता कता मनले नमान्ने रहेछ !’

Skip This
Skip This
Logo