कृष्णसिंह धामी ।
काठमाडौं । नुवाकोटकी कल्पना तामाङ सुत्केरी हुन मंगलबार थापाथलीस्थित प्रसूति गृह आइन् । काठमाडौंको लैनचौरमा बस्दै आएकी कल्पनालाई आफन्तको सहयोगमा राति ११ बजे अस्पताल पुर्याइयो । उनी अस्पताल पुग्दासम्म एकदमै सामान्य अवस्थामा थिइन् । रगत र पिसाब परीक्षण गरेपछि उनलाई भर्ना गरियो ।
बुधबार बिहान ७ बजेतिर व्यथा लाग्ने औषधी सलाइन पानीमार्फत दिइयो । बिहान ९ बजेतिर डाक्टरले चेक गर्ने बेलामा आफन्तहरूलाई बाहिर निकालियो । त्यो बेलासम्म कल्पना राम्रै अवस्थामा थिइन् ।

कल्पनाको अप्रेशन गरेर बच्चा निकाल्नुपर्ने थियो । अप्रेशनको क्रममाभित्र के–के भयो, थाहा भएन, एकछिनपछि बच्चा म¥यो भनियो । केही सयमपछि बच्चा जिउँदै छ, आमाको मृत्यु भयो भनियो । तपाईंको बच्चा जिउँदै छ भन्दै अर्कैको बच्चा लिएर देखाइयो । फेरि केही बेरपछि होइन तपार्इंको त बच्चा मरेकै हो भनियो ।
आफन्तहरूले भने, अस्पतालले हामीलाई झुक्याउने काम गर्दै आयो । अस्पतालले देखाएको बच्चा आफ्नो हो वा होइन भन्नका लागि डीएनए परीक्षण गर्नुपर्ने आफन्तहरूको माग छ । आफूहरूको माग बमोजिम अस्पताल प्रशासन डीएनए परीक्षण गर्न तयार भएको मृतकका आफन्तहरूको भनाइ छ ।

बच्चा र आमाको अवस्था जटिल बन्दा पनि अस्पतालले कुनै जानकारी नगराएको आफन्तहरूको आरोप छ । अवस्था एकदमै जटिल बनेको अवस्थामा आफन्तलाई कुनै जानकारी नगराई एकाएक तपाईको मान्छेलाई बचाउन सकेनौँ भन्नु अस्पतालको चरम लापरवाही भएको उनीहरूको आरोप छ ।
‘आमाको मृत्यु भएपछि पनि तपाईंको बच्चामाथि एनआईसीयूमा राखिएको छ भनियो । के रहेछ भनेर बुझ्न जाँदा तपाईहरूले भेट्न मिल्दैन । देखाउन मिल्दैन । जुन बच्चाको बाउहो उसले म हेर्न सक्दिन भनेपछि मात्र तपाहरूले हेर्न पाउनुहुन्छ भन्दै हामीलाई भित्र जान दिइएन । तलबाहिर आउँदा तपाईंहरूको बच्चा मरेकै हो भनियो ।’ एक आफन्तले भने ।

अहिलेसम्म आफन्तहरूलाई न त मृतक महिलाको शव हेर्न दिइएको छ नत बच्चा हेर्न नै दिइएको छ । चिकित्सकको लापरवाहीका कारण बच्चा र आमाको ज्यान गएको भन्दै उनीहरूले अस्पतालमा विरोध प्रदर्शन गरेका छन् । बिहीबार बिहानदेखि नै अस्पताल तनावग्रस्त बन्यो ।
अहिले अस्पताल प्रशासन र मृतकका आफन्तहरूबीच सहमति भएको छ । आमा र बच्चाको शव घरसम्म लैजान अस्पतालले खर्च दिने सहमति भएको बताइएको छ ।





























प्रतिक्रिया