अर्घाखाँची । एक दम्पत्तीले सम्बन्धबिच्छेद गरेको १७ दिनमै फेरि विवाह गरेका छन् । छत्रदेव गाउँपालिका १ का लिलामनी पौडेल र गुल्मीको छत्रकोट गाउँपालिका १ माइत भएकी जमुना पौडेलले सम्बन्धबिच्छेद गरेको १७ दिनमै जिल्ला अदालतमा गएर कोर्ट म्यारिज गरेका हुन् ।
उनीहरुले असार ५ गते जिल्ला अदालत अर्घाखाँचीबाट सम्बन्धबिच्छेद गरेका थिए । दुवै जनाको सल्लाह र आफन्तबीच कुरा मिलेपछि उनीहरुको दम्पत्तिलाई अदालतले पुनर्मिलन गराएको हो ।
उनीहरुको ६ वर्षका एक छोरा छन् । दुवैका अभिभावकलगायत आफन्तले छोराको मुख हेरेर पनि अलग्गिन नहुने भन्दै सम्झाएपछि फेरि एक हुने निर्णयमा पुगेको लिलामनीले बताए ।
सबैले छोराका लागि मिल्नुपर्ने भनेर सम्झाएपछि उनीहरू फेरि सम्बन्ध गाँस्न अदालत गएका थिए । बहकाउमा पारपाचुके गरेको र अहिले फेरि सँगै बाँच्ने सँगै मर्ने बाचा कसमसहित बिहे गरेको जमुनाले बताइन्।
पतिपत्नीको नाता तोडिसकेपछि उनीहरूले गरेको कोर्ट म्यारिज मुलुकी संहिता लागू भएपछि अर्घाखाँची जिल्ला अदालतमा तेस्रो बिवाह भएको भएको स्रेस्तेदार गम्भीर घिमिरेले जानकारी दिए।
वैवाहिक सम्बन्ध तोडेका दम्पतीले अदालतमा आएर फेरि बिहे गरी भएको पुनर्मिलनले समाजमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको स्रेस्तेदार घिमिरेले बताए।





























प्रतिक्रिया