देशकै राजधानी काठमाडौ । हुनुपर्ने सफा, स्वच्छ, सुन्दर र सुविधायुक्त । तर, राजधानीलाई व्यवस्थित बनाउने जिम्मेवार निकाय आफै पटक पटक डुबानमा पर्ने गरेको छ। त्यो पनि ढल थुनिएर।

बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालय भवनको ढल थुनिएको तीन दिन बितिसकेको छ। शनिबारको भारि बर्षाले ढल थुनिएको थियो। ढल अझै खोल्न नसक्दा स्थानीय र आसपासका ब्यापारीहरु नाक थुनेर बस्न बाध्य छन् ।

केन्द्रीय कारागारले अनधिकृत ढंगले भौतिक संरचना निर्माण गरेपछि ढल थुनिएको हो । महानगरपालिका र चाइना टाउनको भुइँतला डुबानमा पर्दा सडकमै पार्किङ गरिएको छ ।

कारागारले सम्बन्धित वडासगँ स्वीकृति नलिई महिला व्यारेक संरचना निर्माण गर्दा ढल थुनिएको छ । वर्षाको पानीले ढलबाट निकास नपाएपछि महानगरपालिका कार्यालय रहेको भवन र चाइना चाउन डुबानमा परेको छ । डुबानसँगै ढल फुट्दा आसपासको क्षेत्रसमेत दुर्गन्धित बनेको छ । महानगरपालिका कार्यालयको पार्किङअघि विभिन्न ठाउँमा ढल थुनिएर नाला फुटेको छ।

पार्किङका रुपमा पनि प्रयोग हुँदै आएको भुइँतला डुबानमा परेपछि गाडी राख्न पनि समस्या भएको छ। डुबानले दुर्गन्ध बढेपछि भएपछि विभिन्न कार्यालय/कम्पनीका कर्मचारी, चाइना टाउनका व्यापारी तथा सेवाग्राही नाकमुख थुनेर काम गर्न/सेवा लिन बाध्य छन्।

आफ्नै कार्यालय रहेको भवन वर्षासँगै पटकपटक डुबानमा पर्दा पनि महानगरपालिका मुखदर्शक बन्दै आएको छ । यो समस्या विगतमा पनि पटक पटक दोहोरिदैं आएको छ । महानगरले समस्याको दीर्घकालीन व्यवस्थापन गर्न सकेको छैन।

काठमाडौं महानगरपालिका वडा ११ का अध्यक्ष हिरालाल तन्डुकारले कारागार प्रशासनले महानगरपालिका र वडासँग स्वीकृति नलिई भवन बनाउँदा यस्तो समस्या भएको बताए । अब नयाँ ढल हालेर समस्या समाधान गरिने वडाअध्यक्ष तण्डुकारको भनाई छ । यो समस्याको समाधान चाँडै हुने महानगरको दाबी छ ।
अहिले तत्कालका लागि पाइपबाट ढलको पानी निकास गरिएको छ। कारागारको केही संरचना हटाउने काम पनि भैरहेको छ।





























प्रतिक्रिया