कोशीमा दिनहुँजसो आगलागीः पाँच जनाले ज्यान गुमाए, दर्जनौं घर जले

कोशीमा दिनहुँजसो आगलागीः पाँच जनाले ज्यान गुमाए, दर्जनौं घर जले

केन्द्रबिन्दु
56
Shares

विराटनगर। केही सातायता कोशी प्रदेशमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन्। दुई दिनअघि भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाले ज्यान गुमाए। आगामा जलेर विभिन्न जिल्लामा दर्जनौं घर नष्ट भएका छन् ।

आगलागीमा परी पाँचथर र झापामा १-१ जनाको मृत्यु भएको छ। मोरङ, तेह्रथुम, सुनसरी, सोलुखुम्बु, पाँचथर, इलाम, उदयपुर, धनकुटालगायत जिल्लामा शृङ्खलाबद्ध रुपमा आगलागीका घटना हुँदा धनमालको ठूलो क्षति भएको छ।

पहाडी क्षेत्रमा वनमा लागेको डढेलो फैलँदै गाउँ बस्तीसम्म पुगेर स्थानीयको घर जलेका घटना छन्। यसैगरी, तराईका केही स्थानमा बिजुलीका कारण आगलागी भएको पाइएको छ।

एकै दिन झण्डै दर्जन स्थानमा आगलागी भएको पाइएको छ। शनिबार र आइतबार दुई दिनमा कोशी प्रदेशका ४० भन्दा बढी आगलागीका घटना भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीका अनुसार फागुन महिना लागेयता कोशी प्रदेशका विभिन्न जिल्लामा साना ठूला गरी २ सय ५० भन्दा बढी आगलागीका घटना भएका छन्। ती घटनामा दुई सयभन्दा बढी घर जलेको जनाइएको छ। ठूलो परिमाणमा धनमाल नष्ट भएको छ।

प्रहरीले अहिले आगलागीका घटना बढिरहेको अवस्थामा सतर्कता अपनाउन आग्रह गरेको छ। आगलागी भइहाले नियन्त्रण र उद्धारका काममा परिचालन गर्ने टोलीहरु तयार रहेको पनि प्रहरीले जनाएको छ।

पीडित परिवारलाई राहत

यसैबीच, मोरङको रंगेली नगरपालिका-३ बाबुसाहेब टोलका अग्निपीडितलाई राहत प्रदान गरिएको छ। औषधि व्यवसायीहरुले पीडित परिवारलाई आइतबार खाद्यान्न लगायत राहत सामग्री प्रदान गरेका हुन्।

उक्त स्थानमा बिजुली सर्ट भइ आइतबार भएको आगलागीमा २० घर जलेका थिए। २८ परिवारका १ सय १८ जना बिस्थापित भएका छन्। उनीहरु त्रिपाल टाँगेर बसेका छन्।

अग्निपीडितको जीवनयापन कष्टकर भएको जानकारी पाएपछि विराटनगरका औषधि व्यवसायी राहत लिएर पुगेका हुन्। खाद्यान्य, झुल र स्कुल पढ्ने विद्यार्थीहरुको लागि स्टेशनरी सामग्री वितरण गरेको नेपाल औषधि व्यवसायी संघका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए।

Logo