सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत

सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत

केन्द्रबिन्दु
56
Shares

चौतारा (सिन्धुपाल्चोक)। त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ। मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र थामी रहेको प्रहरीले जनाएको छ।

दोलखाको भीमेश्वर–१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ पिस्करमा बेहुली लिन हिँडेको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै आज विहान सात बजेको आसपासमा दुर्घटनामा परेको थियो । मृतक तीनै जनाको शव पोष्टमर्टमका लागि दोलखास्थित जिल्ला अस्पताल लगिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईका अनुसार बसमा ५५ जना सवार थिए। दुर्घटनामा घाइते ५२ जनामध्ये सात जनाको अवस्था गम्भीर छ।

बस सडकबाट करिब एक सय ५० मिटर तल खोँचमा खसेको थियो। स्थानीय र प्रहरीले घाइतेलाई उद्वार गरी धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल पुर्याएका थिए।

Logo