मुगुमा जेठ १५ बाट यार्सा टिप्न पाइने

मुगुमा जेठ १५ बाट यार्सा टिप्न पाइने

केन्द्रबिन्दु
56
Shares

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलन लागि जेठ १५ गतेदेखि प्रवेश खुला गरिने भएको छ। पाटन क्षेत्रमा यार्सा सङ्कलन सुरु गर्ने निर्णय भएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए।

जिल्ला बाहिरकालाई प्रतिव्यक्ति रु दुई हजार पाँच सय र जिल्ला भित्रकालाई प्रतिव्यक्ति रु दुई हजार यार्सा सङ्कलन प्रवेश शुल्क निर्धारण गरिएको छ। अध्यक्ष लामाका अनुसार प्रवेश शुल्क नतिरी लुकीचोरी पाटनमा पुगेर यार्सा टिप्ने जो कोहीलाई कारबाही गर्ने निर्णय पनि पालिकाले गरिएको छ।

चैतदेखि पाटनमा यार्सा उम्रिने सुरु हुने र जेठबाट स्थानीयले टिप्ने गरेको किम्री गाउँका स्थानीय फोन्जुक तामाङले बताए। गर्मीले पाटन क्षेत्रमा हिउँ पग्लिँदै जाने र यार्साको टुसा माथि जमिनमा देखिन थालेपछि टिप्न सजिलो हुने गर्दछ।

मुगुका पाटन क्षेत्रमा उम्रिने यार्सा सङ्कलन गर्न जिल्ला बाहिर र जिल्लाबासी बर्सेनि वैशाखदेखि असारसम्म पाटन पुग्ने गरेका छन्। छोटो समयमा यार्सा सङ्कलनबाट राम्रो आम्दानी हुने भएकाले कार्मारोङ गाउँपालिकासहित मुगु जिल्लाका अन्य पालिकाका गाउँ बस्तीका काम गर्नसक्ने उमेर स्थानीय बुढापाका र बालबच्चा चौपाया बस्तु घरमा छाडेर पाटन उक्लिने गर्दछन्।

पाटनमा डेढ महिनासम्म यार्सा टिपेर स्थानीय फर्किने गरेका छन्। गत वर्ष मुगुको पाटन क्षेत्रमा अत्यधिकमात्रामा यार्सा पाइएको र यो वर्ष खडेरी परेको र हिउँ कम परेकाले यार्सा कमै पाइने स्थानीयको अनुमान छ। मुगुको पाटन क्षेत्रमा पाइने यार्सा प्रतिगोटा रु पाँच सयदेखि एक हजारमा बिक्री हुने गरेको छ। यार्सा सङ्कलन क्षेत्रमा चोरी डकैती लुटपाट नहोस् भन्ने हिसाबले जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मी खटाउँदै आएको छ भने पाटनमा स्वास्थ्यका कर्मचारी पनि यार्सा सङ्कलनको स्वास्थ्य उपचारका लागि खटिने गर्दछन्।

Logo