दाङ । कामको लागि भारत पुगेका दाङका एकै गाउँका तीन जना युवाको रहस्यमय मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ अमुवाका २३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।
चैत ६ गते पूर्णबहादुर वली बेपत्ता भएपछि नोखिराम भण्डारी र प्रकाश वली उनको खोजी गर्न भन्दै भारत गएका थिए। वलीको खोजीमा गएका भण्डारी र वली चैत १० गते भारतको कुल्लु मनालीको भीरमूनि मृत फेला परेका थिए।
भण्डारी र वलीको शव चैत १२ गते दाङ ल्याएर प्रहरीले आफन्तको जिम्मा लगाएको थियो । वेपत्ता पूर्णबहादुर वलीलाई खोजी गर्ने क्रममा चैत २५ गते भारतको कुल्लु मनालीको पतलिकुहलको जंगलमा शव फेला परेको एसपी पाण्डेले जानकारी दिए ।
वलीको शव बिहीबार दाङ ल्याइएको छ। वलिका परिवारले शव बुझ्न मानेका छैनन् । अमुवाका ४६ वर्षीय जाईफली मियाले मजदुरीका लागि मंसिर १४ गते भारतको कुल्लुमनाली लगेका थिए। मृतका आफन्तहरुले भारत पुर्याउने मियामाथी कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ गरेका थिए ।
यसैबीच घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय तुलसीपुरबाट एकजना प्रहरी अधिकृतसहित स्थानीय जनप्रतिनिधि र पीडित परिवारका सदस्य भारत जाने भएका छन् । भारत जान आउन तथा त्यहाँ अनुसन्धानका क्रममा लाग्ने सम्पूर्ण खर्च शान्तिनगर गाउँपालिकाकाले बेहोर्ने सहमति भएको छ।































प्रतिक्रिया