धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी जडान होल चेन्ज, नामसारी, मर्मत तथा चेकमा लाग्ने शुल्क र खानेपानीको महसुलमा चर्को वृद्धि गरेपछि विरोध भएको छ । “खानेपानी समस्या समाधान नभएसम्म जङ्गल गएर बस्छु” भन्दै जनतालाई आश्वासन देखाएर स्वतन्त्रबाट मेयरमा निर्वाचित भएका साम्पाङले ग्राहकले धान्नै नसक्ने गरी एकलौटीरूपमा शुल्क र महसुलमा वृद्धि गरेको भन्दै विरोध भइरहेको हो ।
निशाने, सर्दू र खर्दू खोलाको पानी एकीकृत हुने सो ठाउँमा जनसहभागिताबाटै एउटा फिल्टर ट्यांकी र एउटा खानेपानी ट्यांकी निर्माण गरिएको छ । हर्क साम्पाङले धरानमा त श्रमदानलाई संस्थागत नै गरेका छन् । दिन होस् या रात कहिले गिट्टी कुट्ने, कहिले ढुंगा बोक्न त कहिले बिरुवा रोप्न उनी आफैं अरुभन्दा बढी खटिन्छन् । उनको समय कार्यालयभन्दा बढी श्रमदानमै बितेको देखिन्छ ।
तर, एकाएक उनको यो कदमले धरानका १० वटा राजनीतिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । यसअघि साउन ११ गते धरानमा क्रियाशील दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न मागसहित धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापन पत्र दिएका थिए । तर, अल्टिमेटम सकिँदासम्म महसुल वृद्धिको निर्णय फिर्ता नलिएको भन्दै दलहरूले पुनः चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
मेयर साम्पाङले एकलौटीरूपमा २ इन्च पाइपको धारा जोड्न १ लाख रुपैयाँसम्म महसुल तोकेकाे आराेप छ ।
यसअघि १/२ इन्चको पाइपमा घारा जडान गर्दा १५ हजार रूपैयाँ तिर्नुपर्थ्यो । बोर्डले त्यसलाई बढाएर २० हजार पुर्याएको छ । ४ बाई ३ को पाइपमा नयाँ धारा जडान शुल्क २५ हजार तोकेको छ । यसअघि ४/३ इन्चको धारा जडान गर्दा १० हजार रूपैयाँ तिर्नु पर्दथ्यो । बोर्डले १ इन्चको पाइपको धारा जडान ५० हजार शुल्क तोकेको छ । यसअघि धरानबासीले १ इन्चको पाइपमा धारा जडान गर्दा १५ हजार रूपैयाँ तिर्दै आएका थिए ।
डेढ इन्चको धारा जडानको शुल्क ७५ हजार पुर्याइएको छ । यसअघि धरान खानेपानी बोर्डले डेढ इन्चको पाइपमा धारा जडान गर्न २० हजार रूपैयाँ शुल्क लिँदै आएको थियो । २ इन्चको पाइपको धारा जडानमा २५ हजारबाट बढाएर एक लाख पुर्याइएको छ ।
होल चेन्जको शुल्कसमेत वृद्धि गरेको छ । १/२ को पाइपको होल चेन्जमा २ हजार रूपैयाँ शुल्क लिँदै आएको बोर्डले अब ५ हजार रूपैयाँ लिने गरी शुल्क तोकेको छ । ४/३ को पाइपको होल चेन्जमा ३ हजारबाट ८ हजार पुर्याएको छ । यस्तै १ इन्चको पाइपमा ४ हजारबाट १० हजार रुपैयाँ शुल्क पुर्याइएको छ । डेढ इन्चको पाइपको शुल्क ५ हजार रूपैयाँ रहेकोमा बढाएर १५ हजार रूपैयाँ पुर्याइएको छ । यसैगरी खानेपानीको महसुलमा साविकभन्दा २० रूपैयाँदेखि १ हजारसम्म बढाइएको छ । वृद्धि भएको रकम साउनदेखि लागू हुने बताइएको छ ।































प्रतिक्रिया