पर्वत । पर्वतको जलजला गाउँपालिका–७ स्थित मिलन चोक–सल्यान–घायखेत–धारापानी सडक कालोपत्र भएको तीन महिनामै भत्किएको छ । कमसल निर्माण र भारी वर्षाका कारण कालोपत्र भएको तीन महिना नपुग्दै सडक भत्किएको जलजला गाउँपालिका–७ धाइरिङका वडाअध्यक्ष टुङ्गनाथ आचार्यले जानकारी दिए ।
सडक योजनाअन्तर्गत सल्यान पहिराको टाकुरामा करिब पचास मिटर कालोपत्र सडक भत्किएको उनले बताए । निर्माण व्यवसायीको लापरबाहीका कारण सडक भत्किएको उनको भनाइ । ‘सडक कालोपत्र भएको तीन महिना नहुँदै भत्किएको छ । यहाँ सल्ल्यान टाकुरालगायत स्थानहरूमा गरेर करिब डेढ सय मिटर कालोपत्र सडक भत्किएको छ ।’ वडाध्यक्ष आचार्यले भने ।
उक्त सडक गत जेठमा कालोपत्र गरिएको हो । निर्माण व्यवासायीले जग खनेर टेवा पर्खाल लगाउनुपर्नेमा पुरेको माटोमाथि ग्याविन जाली भरेर त्यसमाथि कालोपत्र गर्दा जनप्रतिनिधि र स्थानीयवासीले पटक–पटक ध्यानाकर्ष गराउँदासमेत बेवास्ता गरेकाले हाल समस्या भएको वडाअध्यक्ष आचार्यको जिकिर छ ।
मालढुङ्गा–बेनी सडकअन्तर्गत पर्ने मिलन चोकदेखि ठोट्नेरी जोड्ने १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्न २०७६ मङ्सिर ६ गते २८ करोड १३ लाखमा हिमदुङ एन्ड थोकर प्रालिले ठेक्का सम्झौता गरेको थियो ।
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण गत मङ्सिरदेखि काम शुरू भएको थियो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो ।
गत आर्थिक वर्षमा पहिलो चरणमा मिलन चोकदेखि सल्ल्यानसम्म करिब चार किलोमिटर सडक कालोपत्र गरिएको छ । दुई वर्षमा सम्पन्न हुनुपर्ने सडक पाँच वर्षपछि कालोपत्र गरिए पनि तीन महिना नटिक्दै भत्किएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।
पूर्वाधार विकास कार्यालय पर्वतका इन्जिनियर जिता गिरीले कमजोर भूभागमा पहिरो गएका कारण सडक भत्किएको बताए ।































प्रतिक्रिया