काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा २२ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
प्रहरीका अनुसार सो बसमा ४३ यात्रु सवार थिए ।
घाइतेलाई लिन नेपाली सेनाको हेलिकप्टर अपराह्न १४ः०५ बजे तनहुँकै ढकालटारस्थित कालीभञ्ज्याङ गणमा अवतरण भएको थियो । दुर्घटनाका घाइते २२ जनालाई उद्धार गरी आबुँखैरेनी अस्पताल लगिएकामा १६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
घटनास्थलबाट डोरीका सहायताले १९ जनाको शव सङ्कलन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । गाडी मुनी च्यापिएको अवस्थामा सशस्त्र प्रहरीको गोताखोर टोलीले थप दुई जनाको शव सङ्कलन गरेको थियो ।
प्रतिक्रिया