सहकारीकाे अर्बौं रकम ठगी फरार रहेका गितेन्द्रबाबु (जीबी राई)लाई पक्राउ गर्न मलेसिया पुगेको नेपाल प्रहरीको टोली स्वदेश फर्किएको छ । उच्च स्रोतका अनुसार एक साताअघि मलेसिया गएका प्रहरीका एक जना एसपी र सईको टोली बुधबार काठमाडौं फर्किएको हो । उक्त टोलीले जीबी राईको बारेमा हालसम्म केही खुलाएको छैन ।
प्रहरी प्रधान कार्यालयको पत्रपछि गृहमन्त्री रमेश लेखकको पहलमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर प्रहरी टोली मलेसिया पठाइएको थियो । जीबी राईमाथि देशभर आधा दर्जनभन्दा बढी सहकारी संस्था खोलेर सर्वसाधारणको १६ अर्ब रुपैयाँ दुरुपयोग आरोप छ । उनले पोखराको सूर्यदर्शन सहकारीको मात्रै १ अर्ब ११ करोड ३४ लाख ४३ हजार रुपैयाँ हिनामिना गरेको खुलेको छ । तर, डेढ वर्षदेखि उनी फरार छन् ।
प्रहरी स्रोतका अनुसार जीबी क्वालालम्पुरस्थित देशापन्डनमा अपार्टमेन्टमा बसेका छन् । मलेसिया सरकारको ‘मेक मलेसिया माई सेकेन्ड होम’ अवधारणा अनुसार तोकिएको रकम मलेसियाली सरकारलाई तिरेपछि मलेसियाली नागरिक सरह बस्न मिल्छ । अझ भनौं, मलेसियामा कुनै अपराध नगरेको, अर्ब बढीको लगानी गरेर रोजगारी समेत दिएको व्यक्तिलाई मलेसियाली सरकारले सम्बन्धित देशमा पठाउन चाहँदैन । सोही अनुसार जीबी मलेसियामा गएर बसेको प्रहरी स्रोत बताउँछ ।
प्रहरीको इन्टरपोलले जीबीविरुद्ध १३ माघ २०८० मा डिफ्युजन नोटिस जारी गरेको थियो । डिफ्युजन नोटिस मात्रै जारी हुँदा जीबीलाई नेपाल ल्याउने प्रक्रिया लामो हुने भन्दै नेपाल प्रहरीले रेड नोटिसका लागि पत्राचार गरेपछि २१ फागुन २०८० मा इन्टरपोलले जीबीविरुद्ध रेड नोटिस समेत जारी गरेको थियो । त्यसपछि कूटनीतिक नोट पठायो । तर, मलेसियाली सरकारले नेपाल फिर्ता नपठाएपछि नेपाल प्रहरीको टोली नै केही क्लू पत्ता लगाएर मलेसिया पुगेको थियो, तर अहिले टोली फर्किँदासम्म पनि केही खुलाएको छैन ।
हाल सहकारीका हजारौं बचतकर्ता सडकमा छन् । यो प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पनि मुछिएका छन् । कुनैबेला जीबीसँगै सहकार्य गरेका उनको यो प्रकरणले छवि नै धमिल्याएको छ भन्दा फरक नपर्ला । उनी उपप्रधान तथा गृहमन्त्री हुँदासमेत जीबी राईलाई समात्न नसकेको भन्दै चर्को आलोचना हुने गरेको छ । सहकारीको बचत ठगी प्रकरणमा छानबिनका लागि बनेको संसदीय विशेष समितिमा उनले ९ घण्टा बयान दिइसकेका छन्, तर कुनै प्रमाण भने भेटिएको छैन।
प्रतिक्रिया