प्रधानाध्यापक हत्याकाे जिम्मा लियाे विप्लव समूहले, पार्टी विरोधी काम गरेको भन्दै हत्या गरेकाे स्वीकार

प्रधानाध्यापक हत्याकाे जिम्मा लियाे विप्लव समूहले, पार्टी विरोधी काम गरेको भन्दै हत्या गरेकाे स्वीकार

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा स्थानीय विद्यालयका प्रधानाध्यापक (प्रअ) ५३ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको बर्बरतापूर्वक ढंगले हत्या गरेका छन्।

मिक्लाजुङ–१ बर्खे घर भएका उनलाई मंगलबार अपहरणपछि घरदेखि लगभग एक किलोमिटर पर देउढुंगा जंगलमा पुर्‍याएर विभत्स ढंगले हत्या गरेको प्रहरीले जनाएको छ।

धारिलो हतियारले घाँटी रेटेर र टाउकोमा लट्ठीले प्रहार गरी हत्या गरेपछि त्यतिकै भुइँमा फ्यालेको अवस्थामा शव भेटिएको थियो। तर, घटनास्थलमा कुनै पनि धारिलो हतियार नभेटिएको प्रहरीले जनाएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपाका इन्चार्ज ‘प्रताप’ले विज्ञप्ति सार्वजनिक गर्दै हत्याको जिम्मा लिएका छन्।

श्रेष्ठको घाँटीको अगाडि (रुद्र घण्टी) दुई ठाउँ रेटेको र टाउकोमा पनि चोट रहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट उनीमाथि प्रहार भएका लट्ठीहरु प्रहरीले फेला पारेको छ। घटनास्थलबाट प्रहरीले लाट्ठी, श्रेष्ठले लगाउने टोपी, चप्पल र बोक्ने मोबाइल फेला परेको छ। सुरुमा घटनाको जानकारी उनका भतिज महेशले प्रहरीलाई दिएका थिए।

प्रहरीले घटनास्थलको भुइँ मडारिएको अवस्थामा भेटिएको र घटनाको प्रकृति हेर्दा उक्त समूहबाट जोगिनका लागि प्रअ श्रेष्ठले प्रतिकार एवं धेरै प्रयास गरेको हुन सक्ने देखिएको जनाएको छ।

‘घटनाको प्रकृति हेर्दा बाँच्नका लागि निक्कै संघर्ष गरेको जस्तो देखिन्छ। जमिन मडारिएको छ,’ प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले भने । सुरुमा गोली हानेर घटना गराइएको हुनसक्ने बताए पनि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेपछि घाँटी रेटेर हत्या गरेको पाइएको हो।

श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । २०४६ सालबाट शिक्षण पेसा सुरु गरेका उनी एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्य पनि थिए। मंगलबार बिहान लगभग ६ बजेतिर आइपुगेका पाँच÷सात जनाको समूहले उनलाई घरयासी काम गरिरहेको अवस्थामा घरैबाट अपहरण गरेर लगेको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए।

श्रेष्ठलाई अपहरण गरेपछि पछाडिबाट मात्रै देखेका कारण उक्त समूहले मास्क लगाएको थियो कि थिएन भन्ने यकिन नभएको उनीहरुले बताए। होहल्ला गर्न थालेपछि बोल्नसमेत नदिइकन मुख थुनेर श्रेष्ठलाई लगिएको उनीहरुको भनाइ छ।

अपहरण गरेर अगाडिबाट दुवै हात बाँध्दै बोल्न पनि नदिइकन जंगलमा पुर्‍याएर हत्या गरिएको अवस्थामा शव भेटिएको वडा अध्यक्ष नरबहादुर राईले जानकारी दिए। उनका अनुसार हात बाँध्दै उत्तानो पारेर भुइँमा लडाएको अवस्थामा शव फेला परेको हो।

उक्त समूहले घरमा एक्लै भएको अवस्थामा आफूलाई कब्जामा लिएपछि प्रअ श्रेष्ठले नजिकका छरछिमेकीलाई सुनाएका थिए। होहल्ला गर्दै सुनाएपछि त्यस विषयमा स्थानीयले चासो लिन थालेको केही बेरमै उनको हत्या भएको खवर आएको वडा अध्यक्ष राईले बताए।

श्रीमती ५३ वर्षीया धनकुमारी श्रेष्ठले आफू बिहानै घरबाट निस्किएर बाख्रालाई घाँस पानी दिन र काम गर्न गएको अवस्थामा घटना भएको सुनाइन्। घरभन्दा बाहिर रहेका कारण श्रीमानलाई अपहरणकारीले कब्जामा लिँदै जंगलमा पुर्‍याएर हत्या गर्दा पनि आफूले पत्तै पाउन नसकेको उनले बताइन्। प्रअ श्रेष्ठका श्रीमती, एक छोरा र छोरी छन्।

पार्टी विरोधी काम गरेकाले हत्याः विप्लव

विप्लवले मंगलबार नै एक विज्ञप्ति निकाल्दै हत्या गरेको स्वीकार गरेको छ। मेची कोशी ब्यूरो इन्चार्ज ‘प्रताप’ले हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टी विरुद्ध लामो समयदेखि शिक्षक श्रेष्ठले सुराकी गरेको र सच्चिन आग्रह गर्दा पनि अटेर गरेकाले यो घटना भएको उल्लेख गरिएको छ।

‘उनलाई यसपटक पनि सच्चिन आग्रह गर्दै सम्झाउने क्रममा हतियार लिएर आक्रमण गरेपछि प्रतिकार गर्दा उनको मृत्यु भएको हो’, विज्ञप्तिमा उल्लेख गरिएको छ। उक्त विज्ञप्तिमा पार्टीका कार्यकर्ता पक्राउ गर्न, सामान लुट्न श्रेष्ठले पटकपटक प्रहरीलाई सघाएकाले उनलाई यस अघि पनि सम्झाउँदै आएको बताइएको छ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo