विपद्पीडितको गुनासो- राहत लिएर कोही किन आउँदैनन् ?

विपद्पीडितको गुनासो- राहत लिएर कोही किन आउँदैनन् ?

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । “तपाईंहरु हामीलाई राहत दिन आउनुभएको हो ?” बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो ।

“होइन नी हामी त तपाईंहरुको अवस्थाबारे रिपोर्टिङ गर्न आएको ।” यो जवाफले एक्कासी अध्याँरो मुहार लगाएर माझीले भनिन‍्, “ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नी ।” काखमा छ महिनाकी दूधेबालक च्यापेर कोही राहत दिन आएको हो की भन्ने आशाले बाटो निहालिरहेकी छिन् उनी । तर हामी राहत बाँड्ने मान्छे नभएको थाहा पाएपछि भनिन‍्, “अरु पनि आउँछन् यसरी नै । सोधेर जान्छन् । तर कोही राहत लिएर आउँदैनन् ।”

सात दिनदेखि राम्रोसँग खानसमेत नपाएपछि शरीर कमजोर भएको उनको गुनासो छ । “आफूले खान नपाएर दूध नआएपछि छ महिने छोरी पनि भोकले रोहिरहन्छिन्”, माझी भन्छिन्, “अर्को पनि बच्चा छ, उसलाई के खुवाउनु ? आफू त भोकै पनि केही समय बिताउन सकिएला, यी बच्चाहरु मान्दैनन् । रुन्छन् । के गर्नु ?” बाढीले बस्ने बासै उठाएको पनि साता दिन हुन लाग्यो । न बासको ठेगान छ, न गासको भन्दै टिलपिल टिलपिल आँखाभरि आँसु लिएर उनले भनिन्, “बाढीले त बचायो, भोगले पो मरिन्छ कि क्या हो ।”

सोही स्थानका चर्तुमान माझीलाई पनि कोही नयाँ मान्छे आएको देख्दा राहत नै आयो की भन्ने आशा लाग्दोरहेछ । अहिले कसैले केही दिए साँझ के खाएर गुजारा टार्ने होला ? भन्ने चिन्ताले सताउने गरेको दुखेसो सुनाउँछिन् उनी । “अहिले त न बस्ने बास छ, न खानका लागि गास छ, लगाउन त बरु यही शरीरमा भएको एकसरो लुगाले केही दिन कटाउन सकिएला । तर मुख्य खानेकुरै भएन”, उनी भन्छिन्, “नखाएर कति दिन बिताउन सकिएला ?”

अहिले बस्नका लागि आवास र खानका लागि मात्रै व्यवस्था भए पनि हुन्थ्यो नी झैँ लाग्छ, उनलाई । “अरु ठूलो आशा र सपना पनि छैन, त्यही खान पाए र बस्न बासको माग गरेका त छौँ नी”, माझी भन्छिन्, “पछि त दुःख गरेर पनि कमाइएला र ऋण पनि तिरौँला । बाँच्न त बाँचियो भन्ने लागेर ऋण पनि खोजेँ तर कसैले पत्याएनन् ।” कोठा भाडा तिरेर बस्छु भन्नेहरुका लागि कतै कोठा नभएको उहाँ सुनाउनुहुन्छ । “भए पनि एक्कासी महँगो बनाएका छन्”, उनी भन्छिन् ।

सोही टोलमा बस्ने सविता माझी बाढीको भेलले थुपारेको हिलोमा केही त भेटिन्छ कि भन्ने आशामा हिलो माटो खोतल्दै थिइन् । केही थान भाँडा भेटिएछ । अरु त सबै भेलसँगै बगाएर लगेछ । “कसैले राहत दिएमा यही भाँडामा पकाउन पाइन्छ नि,” उनी भन्छिन‍्, “सबै लग्यो बाढीले । धन्न ज्यान त बच्यो ।”

माझी पनि राहत आउला कि भन्ने आशामा बसिरहेकी छन् । “बाढीले ज्यान त बचायो । खान नपाएर मर्न चाहिँ नपरोस्”, उनी भन्छिन्, “बच्चा छ । भोकाउँछन्, रोइहाल्छन् । के गर्नु ।” आमाको गुनासो सकिन नपाउँदै छेवैमा रहेकी सात वर्षीय छोरी खुसी माझी मलिन मुहारमा भन्दै थिइन्, “पत्रकार अन्टी हाम्रो त घरै बगायो । मेरो किताब, कापी, लुगा सबै बगायो नी ।”

फूलबारीमार्गकै नदी किनारामा बस्दै आएकी छिन्, गङ्गा थापा पनि । उनले यस्तो किसिमको विपद् आउला भनेर कहिल्यै कल्पनासमेत गरेकी थिइनन् । “रातको ३ बजेको थियो, शौचलालय जान भनेर ब्युँझिएछु, पानी त भुइँभरि रहेछ । तीन छोराछोरी र श्रीमान्लाई पनि ब्युँझाए । भागाभाग भयो”, थापा भन्छिन‍्‍, “एकैछिनमा त आँखै अगाडि बस्ने बासै बगायो नी । धन्न भाग्यले बाँचियो ।”

मानिसबाहेक सबै चिजहरु बगाएर लगेपछि उनलाई पनि खान, लाउन र बस्न धौधौ भइरहेको छ । अरुको घरमा भाडा माझेर जीवन गुजारा चलाउँदै आएकी थापाको लागि यतिबेला मानिस बाँच्नका लागि एकदमै आधारभूत आवश्यक वस्तु गास, बास र कपासकै जोहो गर्न गाहे भइरहेको गुनासो सुनाउँछिन् । उनको परिवारले अहिले छिमेकीसँग मागेर खाइरहनुभएको र डोलेश्वर स्कुलको पेटीमा बास बसेकाे उनको भनाइ छ ।

Logo