बागलुङ । यहाँको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरू आबद्ध छन् । उनीहरू गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल गर्छन् ।
यस आमा समूहमा आबद्ध अधिकांशले १६ देखि १८ वर्षमा विवाह गरेका हुन् । बालविवाह गरेका उनीहरूले आगामी दिनमा अरूले बालविवाह नगरून् भनेर पनि मासिक रुपमा गाउँमा कसैको उमेर नपुगी विवाह भए–नभएको विषयमा छलफल गर्ने गरेको आमा समूहकी अध्यक्ष शोभा कुँवरले बताइन् ।
“हाम्रो गाउँमा आमाहरूको स्वास्थ्य अवस्था कमजोर छ, अधिकांश बालविवाह गरेकाहरु छन्,” कुँवरले भनिन्, “अब कम्तीमा बालविवाह नहोस् भनी २० वर्षअघि गर्भवती नहुने सल्लाह दिने गरेका छौँ ।”
आमा समूहले नियमित गर्भ परीक्षणलाई प्राथमिकतामा राखेको छ । पूर्ण खोपयुक्त वडा बनाउन पहल गरेको छ । तर खोप क्लिनिक निसीखोलापारि भएकाले नजिकमा पुल नहुँदा सास्ती भएको गुनासो उनीहरूको छ । समूहकी सदस्य भीमकुमारी खत्रीले भनिन्, “खोप क्लिनिक टाढा भएको बहानामा कतिपयले खोप छुटाउने गरेका छन् ।” वडा नंं १ को खाडु भन्ने स्थानमा मात्रै यहाँको खोप क्लिनिक छ ।
क्लिनिक खोलापारि हुँदा बर्सातको समयमा खोला तर्न नसकिने हुँदा आमाहरू गर्भ जाँच गर्न नजाने, जोखिम मोलेरै घरमा बस्ने गरेका छन् । क्लिनिक कान्लेचौरमा पनि स्थापना गर्नुपर्ने उनीहरूको माग छ ।





























प्रतिक्रिया