विवाहको उमेर १८ वर्षमा झार्ने विषयमा गैरसरकारी संस्थाद्वारा सरकारको ध्यानाकर्षण

विवाहको उमेर १८ वर्षमा झार्ने विषयमा गैरसरकारी संस्थाद्वारा सरकारको ध्यानाकर्षण

केन्द्रबिन्दु
48
Shares

मुगु । मुगुस्थित बालविवाह न्यूनीकरण सम्बन्धी काम गर्ने गैरसरकारी संघ–संस्थाहरूले विवाहको उमेर १८ वर्षमा झार्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय मुगु पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विवाहको उमेर १८ वर्षमा झार्ने विषय गलत भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएर सरकारको ध्यानाकर्षण गराइएको हो ।

गत माघ २ गते बसेको प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिअन्तर्गत गठित उपसमितिले विवाहको उमेर १८ वर्षमा झार्न सुझाव दिएको विषयमा मुगु जिल्लास्थित बालविवाह न्यूनीकरणसम्बन्धी काम गर्ने सक्रीय गैरसरकारी संघ–संस्थाहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराउन ध्यानाकर्षण पत्र बुझाएका छन् ।

विवाहको उमेर २० वर्ष हुनुपर्ने र संविधानमा व्यवस्था भएअनुसार नै हुनुपर्ने माग गरी सरकारलाई ध्यानाकर्षण गराइएको हो । १८ वर्षमा व्यक्ति शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुने र उसले परिवार, समाज, काल र परिस्थितिलाई गहिरो गरी बुझ्ने मौका नपाएकाले निर्णय गर्ने क्षमताको विकास पूर्ण रूपमा भइसकेको नहुने भएकाले विवाहको उमेर २० वर्ष नै हुनुपर्ने माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र बुझाई ध्यानाकर्षण गराइएको सिडिएस पार्क मुगुका सचिव अर्जुनबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार १८ वर्षको उमेर भनेको बाल उमेर हो । यो उमेरमा गरिने विवाह नै बालविवाह हो । बालविवाह विश्वव्यापी रूपमा समाजमा विद्यमान एक सामाजिक कुरिती हो, जसको परिणाम कहिल्यै पनि सकारात्मक हुँदैन । बालविवाहले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट बञ्चित गराउँछ भने उनीहरूको भविष्य छनोट गर्ने र उच्च शिक्षा आर्जनमा समेत बाधा पुगाउँछ ।

Logo