स्वदेशमै उद्यम गर्दै भविष्य बनाइरहेछन् केही पौरखी हातहरु

स्वदेशमै उद्यम गर्दै भविष्य बनाइरहेछन् केही पौरखी हातहरु

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । बिहान अरुले हातमुख धुँदैगर्दा हर्क विकले रु दुई हजारको व्यापार गरिसक्छन्। घर–घरमा पुगेर ग्राहकलाई दूध पुर्याएर उनी कर्मस्थल फर्किन्छन्। बुढानीलकण्ठ–६ मा गाईपालन र तरकारीखेती एकसाथ गरेका अछामका ३३ वर्षे विकलाई कृषि पेशा निकै फापेको छ।

राजनीतिक र सामाजिक कार्यसमेतमा सक्रिय विक मेहनत गर्नेलाई अर्थोपार्जन गर्न विदेश जानुपर्दैन भन्ने लाग्छ। एक वर्षदेखि उनले बुढानीलकण्ठमा पाँच रोपनी जमिन भाडामा लिएर ६ वटा गाईसँगै तरकारी खेती पनि थालेका छन्। गाइपालनमा प्रशस्त आम्दानी हुने भएकाले उनले परिवारसमेतलाई यही पेशामा आबद्ध गराएका छन्। सरकारी जागिरे उनकी श्रीमतीले जागिरै छोडेर विकको कृषि कार्यमा साथ दिनु थालेकी छिन्। “गाउँका बेरोजगार र विदेश पलायन हुन थालेका युवालाई आफ्नै कृषि फार्ममा रोजगार दिएको छु,” विकले भने, “स्वदेशमा परिश्रम गरे आम्दानी गर्न कठिन छैन।”

कृषि बजारमा थुप्रै सम्भावना छन्। बिचौलियाले किसान र उपभोक्तालाई ठगेका उनको गुनासो छ। यो बेथितिदेखि जोगीन विकले आफ्नै डेरीसमेत सञ्चालन गर्ने योजना बनाएको सुनाए। मल्टिभिजन एग्रोप्रडक्सन एण्ड सप्लायर नामको कम्पनी स्थापना गरेर उनले आफ्नै लगानीमा कृषिकर्म थालेका छन्।

दोलखाका निकेश श्रेष्ठ अर्का उदाहरणीय युवा उद्यमी हुन्। श्रवण क्षमता कम भएका उनी एक कम्प्युटर इञ्जिनियर हुन्। विदेश जाने सोचमा रहेका उनी आमाबुबाको सपना साकार पार्नेतर्फ लाले। नौ महिनादेखि उनले राजधानीमा ‘कफीसप’ सञ्चालन गरेर श्रवणशक्ति नभएकाहरुले पनि समाजमा केही गर्न सक्छन भन्ने गतिलो दृष्टान्त प्रस्तुत गरेका छन्।

उद्यमी श्रेष्ठकी आमा सरुनाले उनलाई भाषामा र व्यवसायमा सघाउँछिन्। “साथीहरू र आमाबुबाको उत्साहले कफीसप खोल्ने आँट गरेको हुँ”, श्रेष्ठ भन्छन्, स्वदेशमा उद्यमी बनेर ठिकै गरेछु जस्तो लाग्छ।”

महाराजगन्ज चक्रपथ घर भएका ३६ वर्षे विराज खड्काका ‘आई एम द गार्डेन र खड्का नर्सरी’ प्रमुख उद्यमस्थल हुन् । आमाले परम्परागत रूपमा सुरु गरेको नर्सरी व्यापारलाई उनले आधुनिकीकरण गरेका छन्। सन् २०१२ मा उच्च शिक्षाका निम्ति बेलायत बेलायत गएका उनी आमालाई व्यवसायमा सघाउन स्वदेश फर्किए।

जिज्ञासु स्वभावका खड्काले एक दिन आमाले नर्सरीमा व्यापार गरिरहेको नियाली रहे। आमाले विरुवा हुर्काउन गरेको सङ्घर्षले उनलाई प्रेरणा मिल्यो। आमाको उद्यम फस्टाएको थिएन तर उनले काम भने जारी नै राखेकी थिइन। आमालाई सघाउन दृढ निश्चय गरेर तीन रोपनीमा सुरु गरेको नर्सरी अहिले २० रोपनीमा विस्तार भएको छ। एक लाख २० हजारका बेर्ना प्रत्येक महिना उत्पादन भए जुन चितवन, पोखरा, विराटनगर, झापा, धरान, भैरवाह, बुटवल, दाङलगायत सहरमा बिक्री हुने गरेका छन्। “यो व्यवसाय भनेको आजै रोपेर भोलि फल पाइहाल्छु भन्ने होइन,” उनले भने, “व्यापारमा सफलता हालिस गर्न धैर्य आवश्यक छ।”

Skip This
Skip This
Logo