देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–८ की मीता चौधरी एकल महिला हुन्। उनको चार जनाको परिवार रहेको छ ।
श्रीमानको मृत्यु भएको १५ वर्ष भयो । आर्थिक अवस्था कमजोर भएकाले ज्याला, मजदुरी गरेर छोराछोरीलाई हुर्काएको उनले बताइन। घोराही उपमहानगरपालिका कृषि तथा पशु व्यवसाय प्रबन्धन शाखाले एकल तथा असक्त महिलालाई कुखुरा वितरण गरेपछि उनी उत्साहित भएकी छिन्। पालिकाले उनलाई १७ वटा कुखुराका चल्ला दिएको छ । उनले भनि, “यिनै कुखुरालाई राम्रोसँग पालन गरे भने आम्दानी बढ्नेमा ढुक्क छु ।”
घोराही–४ लक्ष्मीपुरकी प्यारी चौधरी पनि एकल महिला हुन्। उनको श्रीमानको निधन भएको सात वर्ष भयो । पाँच जनाको परिवार छ। आर्थिक अवस्था निकै कमजोर छ । पालिकाले १७ वटा कुखुरा निःशुल्क दियो अब आर्थिक पक्ष सुधार हुने उनको आशा छ। पालिकाले जारी गरेको सूचनाका आधारमा निवेदन दिएका हौं । पालिकाले एकल र असक्त महिलालाई प्रोत्साहनस्वरुप राम्रो कार्यक्रम ल्याएको रहेछ, धेरै खुसी लागेको उनले बताईन।
घोराही उपमहानगरपालिका कृषि तथा पशु व्यवसाय प्रबन्धन शाखा प्रमुख श्रीधर अधिकारीका अनुसार, एकल तथा असक्त १ सय महिलालाई कुखुराका चल्ला विरतण गरिएको छ। पालिकाका १९ वटै वडाका नागरिलाई सूचना पुर्याएको र उनीहरूले माग गरेका आधारमा अण्डा र मासु उत्पादनका लागि कुखुराका चल्ला वितरण गरिएको हो ।
‘न्यु हेम्पसाएर’ र ‘अष्ट्रोलोप’ जातका ६ हप्ताका कुखुरा वितरण गरिएको छ । ११ जना असक्त र ८९ जना एकल गरी १०० सय जनालाई रु चार लाख मूल्य बराबरका कुखुरा विरतण गरिएको अधिकारीले बताए। पालिकाले सूचना निकाल्यो एकल र असक्त त्यसमा पनि आर्थिक रूपमा विपन्न महिलाले परिचयपत्रका आधारमा निवेदन दिए।
पालिकाको छनोट समितिले छनोट गरेकालाई मात्र वितरण गरिएको हो । पालिकाभित्रका असक्त र एकल महिलाको आर्थिक अवस्था राम्रो होस् भनेर सहयोग गरेको उनले बताए।





























प्रतिक्रिया