हल्ट प्राइज एट शंकरदेवद्धारा प्रतिस्पर्धीलाई दक्षता अभिवृद्धि सेसन प्रदान

हल्ट प्राइज एट शंकरदेवद्धारा प्रतिस्पर्धीलाई दक्षता अभिवृद्धि सेसन प्रदान

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । हल्ट प्राइज एट शंकरदेव क्याम्पस (पुतलीसडक) द्वारा आयोजित उद्यमशीलता प्रतिस्पर्धामा सहभागी टिमहरूको दक्षता अभिवृद्धि गर्न विभिन्न सेसनहरू संचालन गरिएको छ।

क्याम्पसको हलमा हालै आयोजित कार्यक्रममा उत्कृष्ट १५ टिमलाई मार्केटिङ, कानुनी प्रक्रिया, वित्तीय व्यवस्थापन, र आइडिया पिचिङका विषयमा प्रशिक्षण दिइएको हो । हल्ट प्राइज सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने एक अन्तर्राष्ट्रिय मञ्च हो, जसमा नवप्रवर्तनशील व्यावसायिक अवधारणाहरू प्रस्तुत गरिन्छ । यस वर्ष करिब ४६ टिमले प्रतिस्पर्धामा भाग लिएका थिए, जसमध्ये उत्कृष्ट १५ टिम छनोट भएका छन् । छनौट भएका टिमहरू अन्तिम पाँच स्थान सुरक्षित गर्न कडा तयारी गरिरहेका छन्, जसलाई सघाउन क्याम्पसले विशेष सेसनको आयोजना गरेको हो ।

सेसनको पहिलो दिन मार्केटिङ विशेषज्ञ रिया श्रेष्ठले प्रतिस्पर्धीहरूलाई बजार रणनीति, उपभोक्तासम्म उत्पादन पुर्याउने तरिका, तथा व्यावसायिक चुनौतीहरूको सामना गर्ने उपायहरूबारे प्रशिक्षण दिइन् । त्यसैगरी, कानुनी विषयमा अजय बुढाथोकीले स्टार्टअप दर्ता, कम्पनी कानून, तथा आवश्यक कानुनी प्रक्रिया बारे विस्तृत जानकारी दिए । कार्यक्रममा प्रतिस्पर्धीहरूले राखेको जिज्ञासाको जवाफ दिदै बुढाथोकीले कानुनी व्यवस्थासम्बन्धी प्रावधानको बारेमा जानकारी दिएका थिए ।

स्टार्टअपको वित्तीय व्यवस्थापनबारे रोहित मिश्रले प्रशिक्षण दिँदै व्यवसाय सञ्चालनका लागि आवश्यक आर्थिक स्रोतहरूको व्यवस्थापन कसरी गर्ने भन्नेबारे प्रकाश पारे। त्यसैगरी, प्रतिस्पर्धीहरूलाई आइडिया पिचिङमा अझ प्रभावकारी बनाउन विशेष सेसन सञ्चालन गरियो, जसमा उत्कृष्ट प्रस्तुती दिने तरिका सिकाइएको थियो ।

आयोजकका अनुसार, प्रतिस्पर्धीहरूलाई आगामी चरणमा प्रभावकारी प्रस्तुति दिन तथा उद्यमशीलताको यात्रालाई अझ सशक्त बनाउन यस्ता सेसनहरूले मद्दत गर्नेछन्। सहभागीहरूले सेसनलाई उपयोगी ठहर गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

उक्त कार्यक्रमको सञ्चालन आकृति सापकोटाले गरेकी थिइन् भने संयोजन क्याम्पस निर्देशक सृष्टि न्यौपानेले गरेकी थिइन्।

Logo