केयरगिभरको रुपमा एक हजार नेपाली कामदार इजरायल जाँदै

केयरगिभरको रुपमा एक हजार नेपाली कामदार इजरायल जाँदै

केन्द्रबिन्दु
81
Shares

काठमाडौ । वैदेशिक रोजगार विभागले मंगलबारबाट १३ जना नेपाली कामदार केयरगिभरका रूपमा इजरायल जाने जानकारी दिएको छ ।

सुरक्षा, परिश्रम र सेवा–सुविधाका हिसाबले आकर्षक मानिने इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार (केयरगिभर) मा एक हजार जना नेपाली इजरायल प्रस्थान गर्ने भएका हुन् । जसमा मंगलबार (फागुन ६ गते) बाट १३ जना नेपाली कामदार केयरगिभरका रूपमा इजरायल जाने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।

विभागका अनुसार इजरायल जाने पहिलो एक सय कामदारको भिसा प्रक्रिया पूरा भइसकेको र बाँकी कामदारको प्रक्रिया पनि क्रमशः अगाडि बढ्ने छ । गत अगस्तमा इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा आप्रवासन प्राधिकरण कार्यालयमा आयोजित एक लाइभ लटरी प्रक्रियामार्फत एक हजार १५६ महिला र ९५६ पुरुषसहित कुल दुई हजार ११२ जना चयन गरिएका थिए। बाँकी रहेका एक हजार ११२ जना कामदारको भिसा प्रक्रिया अगाडि बढाइएको हो। यी कामदारहरू इजरायलका दीर्घकालीन हेरचाह (ज्येष्ठ नागरिक गृह तथा वृद्ध हेरचाह) केन्द्रमा काम गर्नेछन्।

यो प्रक्रिया नेपाल र इजरायल सरकारबीच सन् २०२० मा हस्ताक्षर भएको ‘जिटुजी’ सम्झौताअनुसार अगाडि बढाइएको दूतावासले जनाएको हो। नेपाल र इजरायलबिचको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो। यसमा निजी क्षेत्रको संलग्नता छैन। वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार पहिलो चरणमा एक हजार जना पठाएपछि दोस्रो चरणमा बाँकी रहेकालाई लगिनेछ।

नेपालले वर्षौंदेखि इजरायलमा केयरगिभरका रूपमा कामदार पठाउँदै आएको छ। प्रायः नेपाली त्यहाँका ज्येष्ठ नागरिकको स्याहारका लागि जाने गरेका छन्। युद्धका कारण अवरोध हुनुअघि कोभिड महामारीका बेला पनि त्यस्ता कामदार पठाउने प्रक्रिया रोकिएको थियो। भाषा तथा दक्षतालगायत परीक्षण पूरा गरेका नेपाली कामदारलाई सरकारले इजरायल जान अनुमति दिएको छ।

इजरायलले गत असोजमा गोलाप्रथाबाट श्रमिकको नाम छनोट गरेको थियो। योग्यता पुगेका तीन हजार ४६१ जनामध्ये गोलाप्रथाबाट दुई हजार ११२ जना छानिएका थिए। तर, इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाहबीचको लडाइँले तनाव बढेपछि कामदार पठाउने प्रक्रिया स्थगित भएको थियो। इजरायल र हिजबुल्लाहबिच युद्धविराम भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयको सहमतिमा भर्ना प्रक्रिया अगाडि बढाएको थियो।

इजरायल पुगेका अधिकांश नेपाली श्रमिक आफू सुरक्षित रहेको बताउँदै आएका छन्। पछिल्लो समय विदेशी श्रमिक ल्याउने जिम्मेवारी पाएको इजरायलको जनसंख्या अध्यागमन तथा सीमा प्राधिकरण (पिवा) ले नेपालले लामो समयसम्म श्रमिक भर्ना रोक्ने भए विकल्प हेर्ने बताउन थालेको थियो।

Logo