कहिले पाउला त काठमाडौं महानगरले प्रशासकीय अधिकृत ?

कहिले पाउला त काठमाडौं महानगरले प्रशासकीय अधिकृत ?

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा अझै पनि प्रशासकिय अधिकृतको व्यवस्थापन हुन सकेको छैन । सरकारले एकैपटक ७८ सहसचिवको सरुवा गर्दा पनि काठमाडौंमा प्रशासनिक अधिकृत रिक्क्त छ ।

फागुन १२ मा बसेको मन्त्रिपरिषद्ले सरुवा गरेको सहसचिवको सूची बिहीबार सार्वजनिक गरियो । तर पनि महानगरको नाम आएन । काठमाण्डौ महानगरले यस अघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कारबाही गरेपछि करिब २ महिनादेखि काठमाडौंले प्रशासनिक अधिकृतविहीन छ ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटनपटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्दै आएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि पनि विभागीय मन्त्री राजकुमार गुप्ताले एकहप्ताभित्र काठमाडौंमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका थिए ।

‘महानगर मेरो पनि हो, संघीय मामिला मन्त्रालयको त्यो एउटा कार्यालय हो । मेयर सा’ब को हुनुहुन्छ, त्यो पछिको कुरा हो’, सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुप्ताले भनेका थिए, ‘काठमाडौं महानगर मेरो पनि कार्यालय हो । त्यहाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने काम मेरो हो ।’

तर, मन्त्रिपरिषद्को निर्णय भएर आउँदा समेत काठमाडौं महानगरपालिकाको अटाएको छैन । मेयर बालेन शाहले सहसचिव सरोज गुरागाईं बिदामा राखेपछि करिब २ महिनादेखि महागनर प्रमुख प्रशासकीय अधिकृतविहीन भइरहेको छ । ।

काठमाडौं महानगरपालिकामा मेयर बालेन शाह आइसकेयता ४ जना प्रमुख प्रशासकीय अधिकृतले काम गरिसकेका छन् । मेयर शाहको यो साढे २ वर्षको कार्यकालमा सुरुमा लोकनाथ पौडेल प्रमुख प्रशासकीय अधिकृत थिए । त्यसपछि वसन्त अधिकारी, प्रदीप परियार र सरोज गुरागाईंले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

मेयर शाहले काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयलाई पत्राचार गरेको ४४ दिन पुग्दा पनि पाउन सकेका छैनन् । सामान्य प्रशासन मन्त्रालयले निकालेको सूचीअनुसार १७ जना सहसचिव गृहमन्त्रालय सरुवा भएका छन् । मन्त्रालयमा यसअघि ५ जना सहसचिव जिम्मेवारविहीन रहेकै अवस्थामा फेरि १७ जना थपिएका हुन् ।

Logo