वीरगन्ज
वीरगन्जकी ४० वर्षीया दलित महिला सामूहिक बलात्कारमा परेकी छन् । चार युवाले गत कात्तिक ५ गते उनको बलात्कार गरेका थिए । उनीहरूले त्यसको भिडियोसमेत बनाएका थिए ।
वीरगन्ज महानगरपालिका १८ भवानीपुरमा पर्ने सौराहा गाउँका उनीहरूले पीडित महिलालाई भिडियो देखाई रकम मागेर धम्क्याएको घटना खुलासा भएको छ ।
राति १० बजेतिर शौच गर्न खेतमा गएका बेला उनलाई ३५ बर्से मनोज साह तेली, ३० बर्से कृष्ण साह र २४ बर्से दिलिप सहनीले बलात्कार गरेका थिए । बलात्कार गरेको भिडियो ३५ बर्से आकाश साहले मोबाइलमा खिचेका थिए।
त्यही दिन पर्साको पर्सागढी नगरपालिकामा पर्ने डोकैला बहुअरीको मेलामा रक्सी खाएर घर फर्किँदा ती ४ जनाले खेतमा ती महिला एक्लै देखेपछि पक्रेर बलात्कार गरेका थिए ।
पीडित महिलाका अनुसार २ दिनपछि कात्तिक ७ मा आकाशले घटनाको भिडियो सबैलाई देखाइदिने धम्की दिँदै २५ हजार रुपैयाँ मागेका थिए । पिडितले रकम दिन मानिनन् । आकाशले गाँउका दुई जनालाई भिडियो देखाएपछि घटनाबारे गाउँलेले थाहा पाएका थिए । यसबारे गाँउमा हल्लीखल्ली भए पनि पीडितले प्रहरीमा उजुरी दिएकी थिइनन्।
गाउँका अगुवा महिलाले थाहा पाएपछि घटनाको एक सातापछि मात्र उनीहरूकै सहयोगमा पीडितले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा पीडक चार युवाविरुद्ध कारवाहीको माग गर्दै लिखित किटानी जाहेरी दिएकी छन् । उनले उजुरी दर्ता गरेको ३ साता बितिसक्दा पनि आरोपितहरूलाई प्रहरीले पक्रन सकेको छैन ।
प्रहरीले आरोपित पक्रन चासो नदेखाएपछि गाँउका अगुवा महिलाहरूको मद्दतमा पीडितले शनिबार वीरगन्जमा जानकारी गराएपछि घटना बाहिर आएको हो । सामसुम पार्न आरोपितका आफन्तले ५ लाख रुपैयाँ र ५ कठ्ठा जग्गा दिने प्रलोभन देखाएकाले पीडितले उजुरी गर्न ढिलाइ गरेको गाँउका दलित अगुवा जयमंगल हाजराले बताए ।
घटना थाहा पाएपछि वडाध्यक्ष ब्रह्मदेवप्रसाद कुर्मीले पनि आरोपित माथि कारवाही माग गर्दै उजुरीमा हस्ताक्षर गरेको हाजराले बताए । वडाध्यक्ष कुर्मीले पनि दलित महिला माथि भएको जघन्य अपराधमा संलग्न माथि कारवाही हुनै पर्ने बताए ।
पर्साका एसपी रेवती ढकालले घटनामा संलग्न चारै जना विरुद्ध मुद्दा दर्ता भइसकेको बताए । ‘आरोपित पक्रन प्रहरी परिचालन भइसकेको छ तर उनीहरू घर छाडेर फरार छन्’, ढकालले भने, ‘प्रहरीले यो घटनालाई गम्भीर रूपमा लिएको छ, ढिलो चाँडो उनीहरू पक्राउ पर्छन् नै ।’
अन्नपूर्णबाट































प्रतिक्रिया