गुल्मी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

गुल्मी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

केन्द्रबिन्दु
0
Shares

गुल्मी।

गुल्मीको इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नंको जीप इस्मा–४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताए। घाइते तीन जनामध्ये इस्मा–४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपुर्याए पनि बाटोमै मृत्यु भइसकेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पाच्यले जानकारी दिए ।

दुर्घटनामा घाइते इस्मा–४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । दश यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रेकफेल भई दुर्घटना हुँदा सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Logo