‘भविष्य कथन मात्र होइन ज्योतिषशास्त्रले मार्गनिर्देश गर्नुपर्छ’

‘भविष्य कथन मात्र होइन ज्योतिषशास्त्रले मार्गनिर्देश गर्नुपर्छ’

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले ज्योतिषशास्त्र जीवनको मार्गनिर्देश गर्ने विज्ञान भएकाले ज्योतिषीहरु भविष्य कथनमा मात्र सीमित हुन नहुने बताएका छन् ।

राजधानीमा आयोजित दक्षिण एसियाली ज्योतिष महासङ्घको २२औँ वार्षिक उत्सव कार्यक्रममा अध्यक्ष प्रा. अधिकारीले ज्योतिषीहरुले ग्रह गणितको अध्ययनका आधारमा व्यक्तिलाई मार्गदर्शन गर्नुपर्ने बताएका हुन् । उनले साधनाविना भविष्य कथन मात्र गरेर ज्योतिषशास्त्रले पूर्णता नपाउने बताए ।

उनले ज्योतिषशास्त्र केवल फलकथन र भविष्यवाणीमा सीमित नभई, मानव जीवनको मार्गदर्शन गर्ने वैज्ञानिक प्रणाली भएकाले यो जीवन्त रहेको उल्लेख गरे । उनले अबका कार्यक्रममा विषय विज्ञताका आधारमा वैज्ञानिक तर्क, शास्त्रीय सिद्धान्त र व्यावहारिक अनुभवलाई समेटेर प्रस्तुत गरिनुपर्नेमा जोड दिए ।

विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेलले नेपालका ज्योतिषीहरूले अन्तरराष्ट्रिय क्षेत्रमा नेतृत्व गर्न सक्ने क्षमता रहेको र यस ज्ञानलाई व्यावहारिक जीवनमा प्रभावकारी रुपमा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे । समारोहमा महासङ्घको प्रगति र उन्नतिमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई विशेष सम्मान प्रदान गरियो । सम्मानित व्यक्तित्वमा महासङ्घका उपाध्यक्ष डा देवीप्रसाद खनाल, राष्ट्रिय समिति नेपालका सभापति खिलानाथ काफ्लेलगायत विशिष्ट व्यक्तित्व रहेका थिए ।

तन्त्रविद् तथा महासङ्घ अध्यक्ष डा सहदेव विष्टले भने, “तन्त्र जीवनको आधार हो, यसको गहिरो अध्ययन, अनुसन्धान र व्यवहारमा उतार्ने कार्यमा हामी सबै समर्पित हुनुपर्छ ।”

पूर्वराज्यमन्त्री तथा महासङ्घकी सल्लाहकार डा कान्ता भट्टराईले ज्योतिषलाई जीवन र जगतको आँखाको संज्ञा दिँदै भनिन्, “यस क्षेत्रमा सफलता प्राप्त गर्न गहिरो साधना र समर्पण आवश्यक छ ।”

Logo