फेसबुकमार्फत चम्किएको डब्लुआरआरः १० बर्षको उपलब्धीबारे उत्साहित अभियन्ता

फेसबुकमार्फत चम्किएको डब्लुआरआरः १० बर्षको उपलब्धीबारे उत्साहित अभियन्ता

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक मार्फत सामाजिक सेवा भावको अभियान संचालन गरेर स्थापित भएको महिलाहरुको समूह डब्लुआरआरले १०औं वार्षिकोत्सव मनाएको छ ।

शनिवार काठमाडौंको जडिबुटी र लोकन्थलीको सुकुम्वासी बस्तीका बालबालिकाहरुसँग रेम्बो भोलेन्टिएर क्लबसँग सहकार्य गर्दै उनीहरुले १० औ वार्षिकोत्सव मनाएका हुन् ।

गल्मीकी पुजा राणा डब्लुआरआरसँग जोडिएर सामाजिक काम गर्न थालेको करिब नौ वर्ष भएको अनुभव सुनाउदै बालबालिका र महिलाको न्यायको लागि काम गरेको सुनाइन् । ‘हामीले धेरै सामाजिक र मनकारी काम गरेका छौं। महिला बालबालिकाको क्षेत्रमा प्रशस्त काम गरेका छौं। शिक्षाबाट बञ्चित भएका बालबालिकाहरुको सिकाई र शिक्षामा काम गरिरहेका छौं । अनाथ, असाहय वा टुहुराहरुको आश्रमलाई सहयोग गर्ने काममा सक्रिय छौं । महिलाहरुको न्यायको लागि पनि काम गरिरहेका छौं,’ उनले भनिन् ।

तर कतिपय व्यक्तिहरुले सामाजिक काम गर्दा परिचालित संस्था भएको झुटा आरोप लगाउँदा दुःख लाग्ने गरेको उनी सुनाउँछिन् । आफूहरुले सदस्यहरुबीचमै पकेट खर्च उठाएर काम गर्ने गरेको बताइन् ।

उनले भनिन्, ‘सामाजिक कामका लागि सदस्यहरुबीच पकेट खर्च उठाएर काम गरिरहेका छौं । डब्लुआरआरले तीन जना बच्चाहरु पनि पढाइरहेको छ । कतैबाट परिचालित छैनौं । दबिएका आवाज अगाडि ल्याउने हाम्रो उद्देश्य हो । जहाँ आवश्यकता त्यहाँ गएर काम गर्न पाइयोस् भन्ने छ । अब छिट्टै संस्थाका रुपमा दर्ता गर्ने तयारीमा छौं। अहिलेसम्म फेसबुक नै प्लेटफम हो ।’

यस्तै, मोरङकी अर्की सदस्य नमिरा पौडेलले एकजनाबाट अरु सदस्य जोड्दै, एक आपसमा सहकार्य गर्दै काम गर्दा परिवर्तनका लागि महत्वपूर्ण काम गर्न सकिने बताइन् । संस्थामा नेपालका चर्चित कलाकारहरु प्रियङ्का कार्की, ऋचा शर्मा, सविना काफ्ले लगायत सयौं महिलाहरु समूहका सदस्यहरु छन् ।

यस्तै, रेम्बो भोलेन्टिएर क्लबका अध्यक्ष मदन पौडेलले भूकम्पको समयमा बालवालिकाको क्षेत्रमा काम गर्दागर्दै संगठित भएर हालसम्म सक्रिय रहेको सुनाए । ‘हामीले रेम्बो भोलेन्टिएर क्लब भुकम्पपछि सुरु गरेका हौ । त्यसबेला युवाहरुले बालबालिकाको क्षेत्रमा योगदान गर्न सक्छौ भन्ने सोच बनाएर सुरु गरेका हौं । सीपलाई बालवालिकामा हस्तान्तरण गर्ने सोचले अभियान सुरु गरेका थियौं,’ उनले अगाडि भने,‘ नेता र देशको सिस्टमका बारेमा हाम्रो सधैं गुनासो छ । तर आफूले के गरिरहेका छौं भनेर आफैंलाई प्रश्न गर्न सक्दैनौं । तर सानो सानो काम गरेर पनि समाजमा परिवर्तन गर्न सकिन्छ भन्ने हाम्रो लक्ष्य हो ।’

आफूहरुले विशेषगरी बालबालिकामा केन्द्रित शिक्षा, स्वास्थ्य, पोषणलाई महत्व दिएको उनले सुनाए । आफूहरुले मुलपानीमा रेम्बो भोलेन्टिएर क्लबको अफिसमा खाना पकाएर वितरण गरेदेखि अभियानको प्रारम्भ गरिएको उनले बताए ।

Skip This
Skip This
Logo