कांग्रेस सांसद राईको स्वर्णलक्ष्मी सहकारीमा के छ कनेक्सन ?

कांग्रेस सांसद राईको स्वर्णलक्ष्मी सहकारीमा के छ कनेक्सन ?

प्रहरीले संसद सचिवालयमा गरायो पक्राउको जानकारी

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न नेपाली कांग्रेसकी सांसद माया राई करिब सात महिनापछि पक्राउ परेकी छन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा सांसद राईलाई शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा सांसद राईलाई काठमाडौँ जिल्ला अदालतबाट गत कात्तिकमै पक्राउ पुर्जी जारी गरिएको थियो । तर, सत्ताको संरक्षणमा उनी रहेको आरोप लाग्दै आएको थियो । उनको संलग्नता पुष्टि हुँदा पनि प्रहरीले उनलाई पक्राउ गर्न चासो दिएको थिएन। यसअघि ठेगाना नखुलेको भन्दै प्रहरीले उनलाई उन्मुक्ति नै दिएको थियो । तर, शुक्रबारबाट सुरु भएको बजेट अधिवेशनमा संसदमा सुटुक्क उपस्थित भई हाजिर गरेर हिँडेको खुलेपछि प्रहरी प्रशासन दबाबमा परेको थियो र शनिबार पक्रन सफल भयो ।

समानुपातिकतर्फबाट कांग्रेस सांसद बनेकी राईले स्वर्णलक्ष्मी सहकारीमा दुई कार्यकाल सञ्चालकको भूमिका निर्वाह गरेकी थिइन् । त्यही समयमा अर्बौं रकम घोटला गरेको आरोप उनीमाथि छ ।

सुरुमा, स्वर्णलक्ष्मीका ६ सय ९० बचतकर्ताले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएका थिए । तर, अनुसन्धानका क्रममा भने स्वर्णलक्ष्मीका कुल ५ हजार ६ सय ६९ बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ संगठित रूपमा ठगी भएको निष्कर्षसहित अभियोजन गरिएको थियो ।

यस प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी)राई, तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपाका सभापति रवि लामिछाने तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध गत पुसमा ठगी र संगठित अपराधमा मुद्दा दायर भएको थियो ।

स्वर्णलक्ष्मीबाट सेयरधनी, विभिन्न नाफामुखी कम्पनी र अनधिकृत व्यक्तिसम्मले विभिन्न मितिमा गैरकानुनी रूपमा रकम लगेर अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । त्यतिबेला सांसद राईलाई भने प्रतिवादी बनाइएको थिएन । तर, सरकारी वकिलको कार्यालयले उनीमाथि अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको थियो । तर, तत्कालै पक्राउ गर्न भने सकेन ।

यता पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको थियो । यस्तै, अर्का अभियुक्त जोशीलाई पनि ५० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । यी मुद्धा अझै विचाराधीन नै छन् ।

गोर्खा मिडियाकाका तत्कालीन प्रबन्ध निर्देशक भएकै आधारमा लामिछानेमाथि पटकपटक धरपकड हुँदै गर्दा सत्तारुढ दलहरुले आफ्ना सांसदलाई भने संरक्षण दिएको आरोप लाग्दै आएको थियो । सहकारीबाट गैरकानूनी रुपमा ऋण प्रवाह गर्नेलगायत निर्णयमा सांसद राईको हस्ताक्षरसमेत भेटिएको थियो । यी सबै अनुसन्धान गरेर पक्राउ पूर्जी जारी भएपनि सुरुमा प्रहरीले उनको ठेगाना पत्ता लगाउन सकेको थिएन । र पछि गृहको आदेश नपाएको चर्चा चलेको थियो । यसैबीच शुक्रबार प्रहरीकै आँखा छलेर संसदमा पुगेको खबर बाहिरिएपछि सरकारको झनै आलोचना भएको थियो । त्यसपछि सक्रिय रहेको प्रहरीले शनिबार राति उनलाई कपनबाट पक्राउ गरेको हो ।

प्रहरीले सांसद राई पक्राउ परेको जानकारी संसद सचिवालयलाई गराइसकेको छ । राईलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जानकारी सचिवालयलाई गराएको हो । योसँगै राई अब निलम्बित हुनेछिन् ।

Skip This
Skip This
Logo