काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा शुक्रबार रातिकाे हावाहुरीसहितको वर्षाले वितण्डा मच्चाएकाे छ । हावाहुरीका कारण जनजीवन केही प्रभावित समेत भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले नवलपरासी कञ्चनपुर, कैलाली, चितवन, उदयपुर, सङ्खुवासभा, बारा, कपिलवस्तुलगायत जिल्ला प्रभावित भएको बताए ।
उनका अनुसार हावाहुरी र वर्षाका कारण केही जिल्लामा मानवीय क्षति र भौतिक सम्पत्तीमा समेत क्षति भएको छ । शुक्रबार साँझसम्म प्राप्त विवरणमा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको जानकारी प्राप्त भएको पनि उनले बताए ।
उनले नवलपरासी पश्चिममा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले बारामा एक, कैलालीमा दुई, कञ्चनपुरमा एक र नवलपरासीमा तीन जना घाइते भएका पनि जानकारी दिए । चितवनमा हावाहुरीले क्षति गराएको छ ।
शनिबार पनि वर्षा तथा हावाहुरी ल्याउने प्रणाली कायम रहेको र उक्त प्रणाली पूर्वतर्फ सरिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिइन् ।
प्राप्त विवरणअनुसार पछिल्लो १२ घण्टामा पर्वतमा ४३.८, धादिङ ३७, म्याग्दी ३०.२ गोरखामा ३१.६, काभ्रे २९, स्याङ्जामा ३० र काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा १५.६ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा शनिबार अपरान्हतिर शुक्रबारको जस्तै बदली हुने सम्भावना रहेको पनि मौसमविद् महर्जनले जानकारी दिइन् ।































प्रतिक्रिया