काठमाडौं । यस वर्षको साउन महिनाको पहिलो सोमबारका दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूको लागि निःशुल्क यातायातको व्यवस्था पनि गरिएको छ ।
धर्म, संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायीको सहयोगमा निःशुल्क बस सेवा उपलब्ध गराइएको हो । चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिनेछन् । यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालस्थित बुक डिपोले व्यवस्था गरेको छ भने दुईवटा बस यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको छ ।
पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निस्शुल्क बस सेवा दिइएको यो पहिलो पटक हो ।
पशुपतिमा दर्शनार्थीहरुको बिहानैदेखि भक्तजनको भीड छ । पशुपति क्षेत्र विकास कोषले पनि साउन महिनाभर विशेषतः सोमबारका दिनहरुमा भक्तजनहरुको सुविधा, सुरक्षा र उचित व्यस्थापनका लागि विशेष तयारी गरेको जनाएको छ ।
कोषका अनुसार निःशुल्क खानेपानी, मोबाइल शौचालय र स्वास्थ्य सहायता केन्द्रको व्यवस्था, दर्शन व्यस्थापनको लागि प्रवेश र निकासको स्पष्ट रेखांकन तथा प्रहरी सहायताको व्यवस्था, स्वयंसेवक, प्रहरी र सुरक्षाकर्मीको समन्वयमा लाइन व्यस्थापन, आन्तरिक सरसफाई तथा फोहोर व्यवस्थापन, भीड नियन्त्रणका लागि सिसिटिभी निगरानी र सूचना प्रणालीको व्यवस्था, भक्तजनलाई सहयोग पुग्ने उद्देश्यले सूचनाकक्ष एवं माइकमार्फत सूचना प्रसारणको प्रयोगबाट नियमित जानकारीको व्यवस्था, विशेष पूजाका लागि विशेष लाइनमार्फत व्यवस्था, भक्तजनहरूको सहजताका लागि खोज तलास केन्द्रको व्यवस्थालगायतको सुविधा मिलाइएको छ ।































प्रतिक्रिया