हायु परिवारले एकाएक थाकथलो छाड्नुको कारण यस्तो

हायु परिवारले एकाएक थाकथलो छाड्नुको कारण यस्तो

केन्द्रबिन्दु
144
Shares

काठमाडाैं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडी एकाएक गायबर भएर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारमाथि अनुसन्धान सुरू भएकाे छ । उनीहरुले घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेपछि घर छाडेकाे उनीहरूले प्रहरीलाई प्रारम्भिक जानकारी दिएका छन् ।

प्रहरीका अनुसार सोमबार बिहान १० बजे उर्मिला हायु सहित १६ जना परिवारका सदस्य केही दिनदेखि गाउँबाट सम्पर्कविहीन भएको सूचनाको आधारमा प्रहरीले खोजी सुरु गरिएको थियो । अनुसन्धानका क्रममा उनीहरु शनिबार बिहानको राती १ बजे सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. ३ का वर्ष २५ को जिवन भन्ने नविन बिकले चलाउने गरेको मधेश प्रदेश ०४– ००१–००८१ नम्बरको इभी भ्यानमा सिन्धुली जिल्लाको गोलन्जोर स्थित बलेनी भन्ने ठाउँबाट चढी खनियाँखर्क–सिन्धुली–हेटौँडा–मुग्लिन हुँदै पोखरा पुगेर त्यहाँको लेक साईडको होटल जननीमा बसेका थिए ।

आइतबार सो होटलबाट चेक आउट गरी हिँडेका उनीहरुलाई सोमबार प्रहरीले दुइवटा घरबाट फेला पारेको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी खोज तलास गर्दा सोमबार राति कास्कीको पोखरा महानगरपालिका वडा नं. ३० स्थित सोमनाथ पौडेलको घरमा १२ जना र चन्द्र भण्डारीको घरमा ४ जना समेत गरी सबै १६ जना फेला परेको प्रहरीले जनाएको छ ।

१८ जनाको संयुक्त परिवारमध्ये दुई जना यसअघि नै काठमाडौंमा रहेको पुष्टि भइसकेको छ। बाँकी १६ जना भने कुनै जानकारी नदिई गाउँ छाडेर हिँडेपछि प्रहरी र स्थानीय प्रशासनले सोमबार बिहानबाट खोजी थालेका थिए । सो परिवारले केही दिनअघि मात्रै सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझेको थिए। त्यसपछि उनीहरू एक्कासि सम्पर्कविहीन भएका थिए । सिन्धुलीबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना पोखरामा सुरक्षित अवस्थामा भेटिएका हुन् ।

Logo