काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।
शुक्रबार नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले मनोहराको सुकुम्बासी बस्तीमा पुगेर अवैध रुपमा बनेका घर, टहरा र संरचनाहरु भत्काएको हो । बस्तीमा डोजर चलेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार समेत गरेका थिए ।
सुकुम्वासी बस्तीका २५ घरटहरा भत्काइएकाे छ भने झडप हुँदा तीन जना पुरुष र एक जना महिला नगरप्रहरी घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको छ । आजका लागि टहरा भत्काउने काम सकिएको पनि बताइएकाे छ ।
काठमाडौं र भक्तपुरको सीमाना पर्ने मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा अवैध रुपमा नयाँ घरहरुमा बनाइएको थियो । व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो । व्यक्तिको जग्गामा नयाँ संरचना बनेपछि महानगरले डोजर चलाएको हो ।































प्रतिक्रिया